मन्त्री महावीर पुनको फरक अठोट: स्वागतमा खादा–माला होइन, सुझाव चाहिन्छ!

केशरमहलस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सोमबार अपराह्न केही फरक दृश्यको साक्षी बन्यो। राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्री बनेका महावीर पुन कार्यभार ग्रहणका लागि मन्त्रालय पुगेका थिए। तर, उहाँ आउनु अघि नै कर्मचारीहरूलाई कसरी स्वागत गर्ने भन्ने अन्योल थियो। कारण—पुनले सामाजिक सञ्जालमार्फत खादा र माला बोकेर बधाई दिन नआउन र आफूलाई ‘मन्त्री’ नभन्न अपिल गरेका थिए। त्यसैले मन्त्रालय परिसरमा फूलका केही गुच्छा र एउटा रुद्राक्षको माला मात्र सजिएको देखिन्थ्यो।
शपथपछि केही मिनेटमै पुन मुस्कानसहित एक हात हल्लाउँदै मन्त्रालय प्रवेश गरे। उहाँले रातो गलबन्दी-जस्तो खादा लगाइरहेकाले कर्मचारीहरूले रुद्राक्षको माला अर्पण गर्न सहज भयो। सचिव चूडामणि पौडेल र विश्वबाबु पुडासैनी, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालगायतले स्वागत गरे। सार्वजनिक बिदा र निरन्तर वर्षाका कारण वातावरण सामान्य थियो।
मन्त्रालयमा प्रवेशसँगै पुनले चारवटा सल्लाहकार समिति गठन गर्ने कार्यादेश समावेश गरिएको प्रस्ताव स्वीकृत गरे। तर, समितिहरू निस्वार्थ योगदान गर्ने गरी हुनुपर्ने र बजेट सुनिश्चिततामा ध्यान दिनुपर्नेमा उहाँले जोड दिए। विभागीय प्रमुखहरूसँगको छोटो सम्बोधनमा पुनले युवा पुस्ताको चाहनाअनुसार नयाँ विचार र सुधारका सुझाव दिन आग्रह गरे। “म मन्त्री भएकै कारण ठूलो भएको छैन। भ्रष्टाचार र ढिलासुस्ती शिक्षा मन्त्रालयमै भए पनि रोक्नुपर्छ,” उहाँले भने।
पुनले २०८० वैशाख १८ मा गरिएको आफ्नै धर्ना सम्झँदै वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउने सहमति अझै कार्यान्वयन नभएको उल्लेख गरे। प्रतिनिधिसभा नभएकाले विद्यालय शिक्षा विधेयक अघि बढाउन नसकिएको अवस्थामा कार्यविधिबाट विकल्प खोज्न आग्रह गरे। मन्त्रालय स्थापना भएको तीन दशकमा विज्ञान प्रवर्द्धनमा ठोस प्रगति नदेखिएको टिप्पणी गर्दै उहाँले पर्याप्त बजेट खोज्नुपर्ने धारणा राखे।
“सिनेमामा जस्तो जीवनमा दृश्य बदलिएको छ,” पुनले हँसिला मुद्रामा भने, “डाँडाकाँडाबाट मंत्रालयसम्म आएको हुँ। अब आविष्कार केन्द्रमा होइन, मन्त्रालयमै बस्नुपर्ने हुन्छ।” त्यसकै सन्दर्भमा उहाँले मन्त्रालयमा सुत्ने र भान्छा व्यवस्था मिलाउन निर्देशन दिने घोषणा गरे। साथै, व्यक्तिगत सुरक्षाकर्मी नचाहिने र गैरसरकारी कामका लागि सरकारी गाडी प्रयोग नगर्ने सार्वजनिक अठोट व्यक्त गरे।
रोमन म्यागसेसे पुरस्कार विजेता पुनले विगत दुई दशकदेखि वैज्ञानिक अनुसन्धान, शिक्षा र ग्रामीण क्षेत्रमा इन्टरनेट प्रविधि विस्तारमा योगदान दिँदै आएका छन्। नेब्रास्का विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययनपछि स्वदेश फर्केर म्याग्दीको दुर्गम गाउँहरूमा ताररहित इन्टरनेट पुर्याएका उनी पछिल्लो समय राष्ट्रिय आविष्कार केन्द्र र कृषि औजार उद्योग सञ्चालनमा सक्रिय थिए।
सिंहदरबारस्थित पुरानो मन्त्रालय भदौ २४ को आन्दोलनमा तोडफोड र आगजनीपछि अस्थायी रूपमा केशरमहल सरेको हो। त्यही कार्यालयमा पुनको उपस्थितिले विज्ञान–शिक्षा क्षेत्रमा नयाँ शैली र प्रयोगशील दृष्टिकोण ल्याउने अपेक्षा बढेको छ।