समाचार

देउवा–खड्काको घरबाट जलेका नोट संकलन: सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सक्रिय!

देउवा–खड्काको घरबाट जलेका नोट संकलन: सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सक्रिय!

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र हालैसम्म ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रहेका दीपक खड्काको बूढानीलकण्ठस्थित घरमा आगजनीपछि भेटिएका भनिएका जलेका रकमबारे औपचारिक अनुसन्धान सुरु गरेको छ। विभागको टोली आइतबार दुवै घर पुगेर घटनास्थलको मुचुल्का तयार गर्दै खरानी र जलेका नोटका टुक्रा संकलन गरेको हो।

गत भदौ २४ गते ‘जेन–जी’ आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले देउवा र खड्काको घरमा तोडफोड गर्दै आगजनी गरेका थिए। त्यसपछिका दिनमा सामाजिक सञ्जालमा घरभित्र नेपाली र विदेशी नोट जलेको दाबीसहितका भिडियो र तस्वीर सार्वजनिक भएका थिए, तर ती प्रमाणहरूको फरेन्सिक परीक्षण भने अहिलेसम्म भएको छैन। घर जलेको तेस्रो दिनदेखि प्रहरीको कडाइका बीच बाहिरका व्यक्तिहरूलाई प्रवेश रोक लगाइएको थियो।

विभागका एक अधिकारीका अनुसार, नेताहरूको घरमा जलेका वा प्रदर्शनकारीले लगेका भनिएका नोटहरूको तस्बिर र भिडियोबारे विभाग सुरुदेखि नै निगरानीमा थियो। प्रारम्भिक स्क्रिनिङपछि प्रत्यक्ष घटनास्थलमै पुगेर नमुना संकलन गरिएको बताइएको छ। यदि संकलन गरिएका खरानी वा टुक्रा सक्कली नोट भएको पुष्टि भयो भने ती रकमको स्रोत र कानुनी स्थिति सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानमा आउन सक्ने विभागको संकेत छ। राजस्व अनुसन्धान विभागका एक अधिकारीले पनि नेताहरूको घरमा जलेको अवस्थामा नेपाली र विदेशी मुद्रा भेटिएको विषयलाई ‘नोटिस’ मा लिएर प्रारम्भिक अनुसन्धान भइरहेको बताए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अर्को चरणमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटारस्थित घर पनि अवलोकन गर्ने तयारी गरेको छ। दाहालको निवासमा समेत आगजनी भएपछि अहिले प्रहरीको निगरानीमा राखिएको छ।

यसबीच, देउवाको सचिवालयले भने घरमा रकम भेटिएको वा पैसाको सुरुङ रहेको दाबीलाई पूर्ण रूपमा खारेज गरेको छ। सचिवालयका भानु देउवाले असोज २ मा जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोकल्पित, अतिरञ्जित र दूषित मनसायसहित फैलाइएका भन्दै तीबाट पार्टी नेतृत्वलाई बदनाम गर्ने प्रयास भएको आरोप लगाएका छन्।

आगजनीपछि देखिएका नोटका टुक्रा र तस्बिरहरूले सार्वजनिक चासो थपेको छ भने सरकारी निकायहरूले गरेको ढिलोतर अनुसन्धानले प्रश्न पनि उब्जाएको छ। अब प्रमाण संकलन र फरेन्सिक परीक्षणले घटनाबारेको यथार्थता उजागर गर्ने अपेक्षा गरिएको छ।