बालोन डि’ओर २०२५: डेम्बेले विजेता!
फ्रान्सेली फरवार्ड ओस्मान डेम्बेलेले यस वर्षको प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन्। २८ वर्षीय डेम्बेले हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का खेलाडी हुन्। गत सिजनमा उनले ५३ खेलमा ३५ गोल गर्न सफल भए भने १४ गोलमा सहायक पास दिए, जसले उनलाई वर्षको उत्कृष्ट पुरुष फुटबलरको उपाधि दिलायो।
महिला तर्फ स्पेन र बार्सिलोनाकी मिडफिल्डर आइताना बोनमाटीले लगातार तेस्रोपटक यो अवार्ड जितेकी छन्। उनले २०२३ र २०२४ मा पनि बालोन डि’ओर जितेकी थिइन्, यसपटक फेरि विजयी हुँदै लगातार तीन पटक यो सम्मान जित्ने पहिलो महिला खेलाडीको इतिहास रचेकी हुन्।
यसैबीच, बार्सिलोनाकै किशोर खेलाडी लामिन यामालले लगातार दोस्रो वर्ष ‘कोपा ट्रफी’ जितेका छन्। २१ वर्ष मुनिका उत्कृष्ट खेलाडीलाई दिइने यो अवार्ड २०१८ देखि सुरु गरिएको हो। यामाल यस पुरस्कार दुई पटक जित्ने पहिलो खेलाडी बनेका छन्।
यस वर्षको अवार्ड वितरणले युरोपेली क्लब फुटबलमा देखिएको युवा खेलाडीको प्रभाव र शीर्ष स्तरका अनुभवी खेलाडीहरूको निरन्तर योगदानलाई पुनः उजागर गरेको छ।