पश्चिमी नेताद्वारा प्यालेस्टिनी राज्य मान्यतापछि नेतान्याहुको तीव्र विरोध!

पश्चिमी नेताद्वारा प्यालेस्टिनी राज्य मान्यतापछि नेतान्याहुको तीव्र विरोध!

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्र महासभा सम्बोधन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटअघि पश्चिमी नेताहरूको कठोर आलोचना गरेका छन्। वाशिङ्टन प्रस्थानअघि बेन गुरियन विमानस्थलमा बोल्दै उनले फ्रान्सको नेतृत्वमा हालै भएको विशेष सम्मेलनमार्फत प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णयलाई ‘हत्या, बलात्कार र आतङ्क मच्चाउनेलाई इजरायलको हृदयमै राज्य दिने प्रयास’ भन्दै अस्वीकार्य ठहर गरे।

उनले बेलायत र फ्रान्ससहितका नेताहरूको निर्णयलाई ‘प्यालेस्टिनी आतङ्कवादप्रति आत्मसमर्पण’ भएको बताए र इजरायललाई बाध्य पार्न नसक्ने दाबी गरे। वाशिङ्टनमा ट्रम्पसँग चौंथो पटक भेटघाट गर्न लागेका नेतान्याहुले वार्तामा बन्धक फिर्ता, हमासलाई पराजित गर्ने रणनीति र शान्तिको दायरा विस्तारबारे छलफल हुने जानकारी दिए।

अमेरिकी दूत स्टिभ विटकफका अनुसार ट्रम्पले अरब र इस्लामिक मुलुकहरूलाई ‘गाजा सम्बन्धी २१ सूत्रीय शान्ति योजना’ प्रस्तुत गरेका छन्। विवरण सार्वजनिक नभए पनि यसले इजरायल र छिमेकी मुलुकहरूको सुरक्षा चासो सम्बोधन गर्ने विश्वास अमेरिकी पक्षले व्यक्त गरेको छ।

यद्यपि, गाजामा निरन्तर बढ्दो हिंसाले मानविय संकट गहिरिएको छ। बिहीबार मात्रै इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको क्षेत्रीय नागरिक सुरक्षा प्रवक्ताले एएफपीलाई पुष्टि गरेका छन्। पछिल्ला हप्तामा तीव्र भएको स्थल आक्रमणका कारण लाखौँ मानिस विस्थापित भएका छन्, जसले क्षेत्रीय स्थायित्व झन् कमजोर बनाएको छ।

संम्बधित खबर