समाचार

प्रधानमन्त्री कार्कीले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि हटलाइन र पुनःनिर्माण कोषको घोषणा गरिन्!

प्रधानमन्त्री कार्कीले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि हटलाइन र पुनःनिर्माण कोषको घोषणा गरिन्!

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र सामाजिक न्यायका लागि वर्तमान सरकार दृढ रहेको बताएकी छन्। सिंहदरबारबाट बिहीबार राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै उनले कुनै पनि सरकारी निकायमा ढिलासुस्ती, भ्रष्टाचार वा झन्झटपूर्ण व्यवहार भए तत्काल उजुरी दिन सक्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित तीनै तहमा ‘हटलाइन’ सुविधा उपलब्ध गराइएको जानकारी दिइन्।

सम्बोधनमा प्रधानमन्त्री कार्कीले संविधान संशोधनसम्बन्धी विषय जननिर्वाचित संसद्ले समाधान गर्नुपर्ने भन्दै जेनजी आन्दोलनको मर्म र भावना अनुसार सरकार सञ्चालन भइरहेको उल्लेख गरिन्। उनले स्रोत सुनिश्चित नभएका तथा टुक्रे योजनाका नाममा बजेट विनियोजन गरिएको योजनाहरू खारेज गरिएको जानकारी दिँदै क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि ‘पुनःनिर्माण कोष’ स्थापना गरिएको घोषणा गरिन्।

राष्ट्रसेवक कर्मचारीलाई रुपान्तरित भएर सेवाप्रवाह गर्न आग्रह गर्दै उनले वर्तमान परिस्थितिमा मनोबल गिराउने काम नगर्न चेतावनी दिइन्। प्रधानमन्त्री कार्कीको सम्बोधनलाई जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको प्राथमिकतासहितको रोडम्यापका रूपमा हेरिएको छ, जसले आगामी निर्वाचनपूर्व पारदर्शिता र जनविश्वास बढाउने अपेक्षा गरिएको छ।