समाचार

प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र स्वच्छ र निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता!

प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र स्वच्छ र निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता!

प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारबाट बिहीबार राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा सुधार र सुशासन सुनिश्चित गर्दै छ महिनाभित्र निर्वाचन सम्पन्न गराउनु आफ्नो दायित्व भएको बताइन्।

जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। यसअघि भदौ २३ र २४ गते भएको आन्दोलनपछि प्रतिनिधिसभा विघटन गरी फागुन २१ गते निर्वाचन गर्ने निर्णय भएको थियो।

सम्बोधनअघि सिंहदरबारमा विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो। सम्बोधनमार्फत कार्कीले तोकिएको मितिमा स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गराउन सरकार कटिबद्ध रहेको स्पष्ट पारिन्। उनले विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था मिलाउने उपाय खोजिरहेको जानकारी दिँदै सबै नागरिकलाई उत्साहपूर्वक सहभागिता जनाउन आह्वान गरिन्।

उनले विशेषगरी युवापुस्तालाई सक्रिय भएर योग्य उम्मेदवार चयन गर्न आग्रह गर्दै, परिवर्तन र स्थायित्वको अपेक्षा पूरा गर्न निर्वाचनलाई निर्णायक अवसरका रूपमा लिनुपर्नेमा जोड दिइन्। प्रधानमन्त्री कार्कीको सम्बोधनले आगामी चुनावलाई राष्ट्रिय प्राथमिकताको रूपमा प्रस्तुत गरेको छ।