मुस्ताङ र कर्णालीबाट यस वर्ष ३५ करोडभन्दा बढी मूल्यका १४ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी

दसैँ नजिकिँदै गर्दा मुस्ताङसहित कर्णालीका उच्च हिमाली जिल्लाबाट ठूलो मात्रामा भेडाच्याङ्ग्रा निकासी भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका तथ्यांकअनुसार यस वर्ष मात्रै घाँसा हुँदै बेनी–जोमसोम–कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी गरिएको छ, जसको मूल्य करिब ३५ करोड रुपैयाँभन्दा बढी अनुमान गरिएको छ।
पशु चिकित्सक डा. लालमणि अर्यालका अनुसार यसपटक निकासी भएका भेडाच्याङ्ग्रामध्ये सात हजार ८०० जति मुस्ताङका स्थानीय हुन् भने बाँकी छ हजारभन्दा बढी डोल्पा, मुगु र जुम्लाबाट आएका छन्। कुल निकासीमध्ये मुस्ताङको हिस्सा मात्रै करिब २० करोड रुपैयाँ बराबरको रहेको उनले बताए।
व्यापारीहरूले किसानकै खोरमै पुगेर च्याङ्ग्रा खरिद गर्ने चलन छ। यस वर्ष भेडाच्याङ्ग्राको मूल्य प्रतिवटा ३५ हजार रुपैयाँ, भेडाको २८ हजार र रमा (च्यालु) को १२ हजार रुपैयाँ कायम भएको छ। स्थानीय व्यापारी र कृषकका अनुसार बाहिरी जिल्लामा पुगेका भेडाच्याङ्ग्राको वास्तविक सङ्ख्या सरकारी तथ्यांकभन्दा बढी हुनसक्छ। कारण, पशु स्वास्थ्य परीक्षणका क्रममा च्याङ्ग्रा मालिकहरूले प्रायः एकीन सङ्ख्या खुलाउँदैनन्।
दसैँको माग बढेसँगै उच्च हिमाली जिल्लाबाट हुने निकासीले ग्रामीण अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको देखिन्छ। तर उत्पादन, मूल्य स्थायित्व र निकासी व्यवस्थापनलाई दीर्घकालीन रूपमा सन्तुलनमा राख्ने चुनौती अझै बाँकी छ।