प्रचण्डको ६४ लाखको रोलेक्स घडी र छोरीको २८ लाखको ब्यागले माओवादी बैठक तातेयो!

नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहालको जीवनशैलीबारे विवाद उठेको छ। पार्टीका केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज लक्ष्मण पन्तले बैठकमा पेश गरेको लिखित प्रस्तावमार्फत अध्यक्षले लगाउने भनिएको ६४ लाख रुपैयाँको रोलेक्स घडी र छोरीले बोकेको २८ लाख रुपैयाँको लुई भिटन ब्यागको वैधानिकता र स्रोतबारे प्रश्न उठाएका हुन्।
पन्तले पार्टीभित्रैबाट भ्रष्टाचारविरुद्धको संघर्ष सुरु गर्नुपर्ने आवश्यकता औंल्याउँदै, यदि समाचारमा आएको तथ्य गलत हो भने त्यसलाई प्रकाशित गर्ने मिडिया र संसदमा प्रश्न उठाउने नेपाली कांग्रेसका सांसद सुनील शर्माविरुद्ध मानहानिको मुद्दा दायर गर्न अध्यक्षलाई चुनौती दिएका छन्। उनका अनुसार, उपहारका रूपमा प्राप्त वस्तुलाई व्यक्तिगत रूपमा प्रयोग गर्नु नैतिक दृष्टिले अस्वीकार्य हुन्छ। यस सन्दर्भमा उनले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई प्रधानमन्त्री हुँदा प्राप्त महँगा उपहार बेचेर निजी लाभ उठाएको आरोप लागेको घटनासमेत स्मरण गराएका छन्।
घडी र ब्यागको विवादसँगै पन्तले अन्य गम्भीर मुद्दाहरू पनि उठाएका छन्। उनले पार्टी नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने, अजय सुमार्गीको ‘हेलो नेपाल’ प्रकरणमा राज्यलाई भएको करिब २० अर्ब रुपैयाँ नोक्सानीबारे स्पष्टता खोज्नुपर्ने, जनमुक्ति सेनाको ‘पीएलए फन्ड’ अन्तर्गत २ अर्ब ८२ करोडको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने र विगत १८ वर्षमा प्रभावशाली मन्त्रालय सम्हालेका नेताहरूले आर्जन गरेको सम्पत्ति छानबिन गर्नुपर्ने मागसमेत राखेका छन्।
आन्तरिक बैठकमै शीर्ष नेतृत्वको जीवनशैली र पारदर्शितामाथि प्रश्न उठिनु माओवादी केन्द्रको राजनीतिक विश्वसनीयतामाथि गम्भीर विमर्शको संकेत हो। आगामी दिनमा पार्टी नेतृत्व यसबारे कस्तो जवाफ दिन्छ भन्ने विषयले राजनीतिक वृत्तको चासो बढाएको छ।