समाचार

विद्यार्थीलाई शान्तिक्षेत्र भनियो, तर युलेन्स जलाइयो: शिक्षा माथि हमला कि राजनीति?

विद्यार्थीलाई शान्तिक्षेत्र भनियो, तर युलेन्स जलाइयो: शिक्षा माथि हमला कि राजनीति?

जेन–जीको आह्वानमा सेप्टेम्बर ८ देखि सुरु भएको आन्दोलनपछि सेप्टेम्बर ९ मा ललितपुरको खुमलटार र काठमाडौंको बाँसबारीस्थित युलेन्स स्कुलका भवनहरूमा तोडफोड र आगजनी भएको युलेन्स एजुकेसन फाउन्डेशनले जनाएको छ।

फाउन्डेशनका अनुसार सेप्टेम्बर ८ का दिन दिउँसो करिब २ बजेतिर गोली चल्यो भन्ने सार्वजनिक खबर आएपछि र कर्फ्यु जारी भएपछि उनीहरूले खुमलटार र बाँसबारी क्याम्पसका करिब १,४०० विद्यार्थी तथा ५०० भन्दा बढी शिक्षक–कर्मचारीलाई राति ९:३० बजेसम्म सुरक्षित रूपमा घर पठाए।

अर्को दिन बिहान करिब ११ बजेदेखि खुमलटारका ५, बाँसबारीका ३ भवन र काभ्रे नालास्थित बाह्य सिकाइ केन्द्रमा तोडफोड, लुटपाट र आगजनी भएको दाबी गरिएको छ।

फाउन्डेशनका तथ्याङ्कअनुसार ८३ सवारीसाधन, कक्षा कक्षका उपकरण, कम्प्युटर, स्मार्ट बोर्ड, अभिलेख, पुस्तक तथा विद्यार्थीका सामग्री नष्ट भएका छन्। कुल भौतिक क्षति करिब १ अर्ब २५ करोड बराबर पुगेको र १,४६१ विद्यार्थीको पढाइ तथा सयौं कर्मचारीको रोजगारी प्रभावित भएको फाउन्डेशनले उल्लेख गरेको छ।

फाउन्डेशनले आफू मुनाफा वितरण नगर्ने कम्पनीअन्तर्गत सञ्चालन हुने संस्था भएको र व्यवस्थापन समितिमा रहने डा. आरजु राणा देउवाको भूमिकाबारे फैलिएका भ्रम र आरोप असत्य रहेको दाबी गर्दै विध्वंसमा संलग्नलाई कानुनी दायरामा ल्याउन राज्यसँग आग्रह गरेको छ।

प्रभावित समुदायको मनोवैज्ञानिक आघात ठिक पार्दै पठन–पाठन पुनर्बहाली गर्न सुरक्षा र सार्वजनिक प्रत्याभूतिको स्पष्ट व्यवस्था आवश्यक पर्ने संस्थाको भनाइ छ।