समाचार

प्रधानमन्त्री कार्कीसँग कुनै सामाजिक सञ्जाल खाता छैन: प्रधानमन्त्री कार्यालय!

प्रधानमन्त्री कार्कीसँग कुनै सामाजिक सञ्जाल खाता छैन: प्रधानमन्त्री कार्यालय!

 प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जाल खाता सञ्चालन भइरहेको भनी फैलिएका दाबी असत्य भएको स्पष्ट भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा प्रधानमन्त्री कार्कीसँग कुनै पनि सामाजिक सञ्जाल खाता नभएको प्रस्ट पारिएको हो।

कार्यालयका प्रवक्ता रविलाल शर्माले जारी गरेको विज्ञप्तिमा फेसबुक, ट्विटरजस्ता प्लेटफर्ममा नक्कली आइडीमार्फत समाचार वा पोस्टहरू सार्वजनिक भइरहेको पाइएको भन्दै त्यसमा भ्रमित नहुन सर्वसाधारणलाई अनुरोध गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी नक्कली आइडी बनाई सामाजिक सञ्जालमा गतिविधि गरिएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं।”

कार्यालयले गैरकानुनी गतिविधि गर्ने व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।

अहिले राजनीतिक संक्रमणकालीन परिस्थितिमा सरकारका शीर्ष पदाधिकारीहरूको नाममा यसरी नक्कली खाता खोलिनु, सार्वजनिक सूचनाको विश्वसनीयता र नागरिकमा भरोसामाथि नै प्रश्न उठाउने विषय बनेको छ। विज्ञप्तिले झुटा सामग्री वा नक्कली खाताको प्रयोगले लोकतान्त्रिक संस्थाप्रतिको विश्वास कमजोर नहोस् भन्ने चेतना जगाउने आवश्यकता रहेको सन्देश पनि दिएको छ।