समाचार

संयुक्त राष्ट्रसंघको कडा चेतावनी: युवालाई बेवास्ता गर्ने सरकार अब टिक्दैनन्!

संयुक्त राष्ट्रसंघको कडा चेतावनी: युवालाई बेवास्ता गर्ने सरकार अब टिक्दैनन्!

संयुक्त राष्ट्रसंघले विश्वका सरकारलाई युवालाई नीतिनिर्माणको केन्द्रमा राख्न आग्रह गरेको छ। न्यूयोर्कस्थित मुख्यालयमा सम्पन्न राष्ट्रसंघीय महासभाको ८०औँ अधिवेशन अन्तर्गत आयोजित उच्चस्तरीय बैठकले विश्व युवा कार्ययोजना (युवा कार्ययोजना) को ३०औँ वार्षिकोत्सवलाई अवसर मानेर यो अपिल गरेको हो। “युवा कार्ययोजना ३० वर्षपछि पुस्ताबीचको सहकार्यबाट विश्वव्यापी प्रगति तिव्र पारौँ” भन्ने नारा राखिएको कार्यक्रममा विभिन्न राष्ट्रका नेता, सरकारी अधिकारी र युवाका प्रतिनिधिहरू सहभागी थिए।

महासचिव एन्टोनियो गुटेरेसले पठाएको सन्देशमा आजका युवाले जलवायु संरक्षण, प्रविधि नवप्रवर्तन, स्थानीय समाधान खोजी र मानवअधिकारको संरक्षणमा नेतृत्व दिइरहेको उल्लेख थियो। तर उनले युवालाई आफ्नै जीवनसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयबाट अझै टाढा राखिएकोमा दुःख व्यक्त गरे। गुटेरेसले युवालाई बराबरीको साझेदारका रूपमा स्वीकार गरी उनीहरूको विचार, ऊर्जा र नेतृत्व क्षमतामा विश्वास गर्नुपर्नेमा जोड दिए।

महासभा अध्यक्ष अनालेना बेयरबकले जलवायु संकटजस्ता विषयलाई कतिपय नेताले अस्वीकार गर्ने तर युवाले अग्रसरता लिइरहेको उदाहरण दिँदै पुस्ताबीचको सहकार्य अझै आवश्यक भएको बताइन्।

बैठकमा राष्ट्रसंघ युवा कार्यालयले सञ्चालन गरेको विश्वव्यापी रणनीतिक परिकल्पना अभ्यासको नतिजा पनि प्रस्तुत गरियो। सो अभ्यासमा १८२ देशका करिब ७५ हजार युवाले अनुभव, चुनौती र आकांक्षा पेस गरेका थिए। युवा मामिलाका सहायक महासचिव फेलिपे पौलियरले १५ देखि ३५ वर्ष उमेर समूहमा रहेका २ अर्ब ३० करोडभन्दा बढी युवाले भविष्य निर्माणमा बराबरीको भूमिका पाउनुपर्ने धारणा व्यक्त गरे।

यो बैठकले विश्वव्यापी निर्णय प्रक्रियामा युवाको सहभागिता केवल आवश्यकतामात्र नभई भविष्यको दिशा निर्धारण गर्ने निर्णायक शक्ति बन्नुपर्ने सन्देश दिएको छ।