समाचार

नेपाली सेनाले पाँच पूर्वप्रधानसेनापतिसँग समसामयिक विषयमा छलफल!

नेपाली सेनाले पाँच पूर्वप्रधानसेनापतिसँग समसामयिक विषयमा छलफल!

नेपाली सेनाले हालै पाँच जना पूर्वप्रधानसेनापतिसँग समसामयिक राजनीतिक र सुरक्षा परिस्थितिबारे छलफल गरेको छ। सेनाका प्रवक्ता तथा सहायका रथी राजाराम बस्‍नेतका अनुसार असोजको पहिलो हप्तामा हेडक्वार्टरमा भएको छलफलमा पूर्वप्रधानसेनापति प्रज्वलशमशेर राणा, प्यारजङ्ग थापा, गौरवशमशेर राणा, पूर्णचन्द्र थापा र प्रभूराम शर्माको सहभागिता थियो।

सेनाको जनसम्पर्क निर्देशनालयले जानकारी दिँदै छलफलमा हालको राजनीतिक घटनाक्रमलाई प्राथमिक एजेन्डा बनाइएको स्पष्ट गरेको छ। भदौ २३ र २४ गते जेनजी युवाले भ्रष्टाचारविरुद्ध गरेको व्यापक आन्दोलन र त्यस क्रममा जनधनको क्षति भएपछि सेनाले देशव्यापी सुरक्षा कमाण्ड आफ्नै हातमा लिएको प्रसंग यससँग जोडिन्छ।

त्यसयता, तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने निर्णय गरेको र त्यसपछि बढेको असन्तोषले राजनीतिक संकटलाई थप चर्काएको थियो। आन्दोलनपछिको अवस्थालाई व्यवस्थापन गर्न राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानसेनापति प्रबलादित्य सिग्देलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने प्रक्रियामा भूमिका खेलेका थिए।

संसद विघटन भइसकेको अवस्थामा मुलुक अब नयाँ जनादेशका लागि फागुन २१ गते हुने मध्यावधि निर्वाचनतर्फ अघि बढिरहेको छ। सेनाले पूर्वप्रधानसेनापतिहरूसँग गरेको छलफललाई आगामी महिनामा राजनीतिक संक्रमण व्यवस्थापन र निर्वाचन सुरक्षाबारे सामरिक दृष्टिकोण मिलाउन गरिएको प्रयासको रूपमा हेरिएको छ।