समाचार

माओवादी केन्द्रले केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय!

माओवादी केन्द्रले केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय!

 नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान केन्द्रीय समिति भंग गर्दै विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको बैठकले महाधिवेशन आगामी मंसिरभित्र सम्पन्न गर्ने गरी तयारी गर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बैठकले महाधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ। मौजुदा केन्द्रीय सदस्य आयोजक समितिमा समावेश हुनेछन् भने दैनिक कामकाजका लागि पदाधिकारीहरूको सचिवालय निर्माण गर्ने निर्णय भएको छ।

प्रवक्ता सापकोटाका अनुसार महाधिवेशनमा नयाँ पुस्ता, विशेष गरी जेनजी युवाको अधिकतम सहभागिता सुनिश्चित गर्न वातावरण तयार गरिनेछ। यससँगै, पार्टी नेताको सम्पत्ति विवरण छानबिन गर्न आयोग गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। छानबिन पदाधिकारी स्तरबाट सुरु गरिने बताइएको छ।

बैठकले केन्द्रीय कार्यालय, नेताको सचिवालय र परिवार व्यवस्थापनमा नयाँ ढंगले सोच्ने आवश्यकता औंल्याउँदै सुधारका लागि पहल गर्ने निर्णय गर्‍यो। साथै, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र गम्भीर संकटमा रहेको निष्कर्ष निकाल्दै विचार मिल्ने दलसँग सहकार्य र समाजवादी मोर्चाभित्र ध्रुवीकरण अघि बढाउने योजना प्रस्तुत गरियो।

क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माणमा सम्बन्धित निकायसँग समन्वय गर्ने, पार्टीका आफ्नै संरचनाहरू पुनःनिर्माणमा पहलकदमी लिने, र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन पूर्ण रूपमा जुट्ने निर्णय पनि बैठकले गरेको छ। जेनजी आन्दोलनपछि भागेका कैदीबन्दी र सामाजिक अराजकताले जनतामा असुरक्षा बढाएको भन्दै, स्थानीय तहमा जनसंयोजक परिचालन गर्ने योजना समेत पारित गरियो।

बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि १० समूह बनाएर छलफल गरिएको थियो। समूहबाट आएका निष्कर्ष र पदाधिकारीहरूको धारणा प्रस्तुत भएपछि, सबै प्रतिनिधिले अध्यक्षको प्रतिवेदनलाई समर्थन गरेको प्रवक्ता सापकोटाले जानकारी गराए।

माओवादी केन्द्रको यो कदमलाई आगामी महाधिवेशन मात्र नभई पार्टी संरचना, नेतृत्व शैली र राजनीतिक दिशा पुनः परिभाषित गर्ने प्रक्रियाको रूपमा हेरिएको छ।