राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई पूरक नतिजा सार्वजनिक!
राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार कुल एक लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ८३ हजार ५६४ जना उत्तीर्ण भएका छन्।
बोर्डका अध्यक्ष डो. महाश्रम शर्माले नतिजाबारे जानकारी दिँदै ५९ हजार ६९३ विद्यार्थी भने अनुत्तीर्ण भएको बताए। यसरी करिब ४२ प्रतिशत विद्यार्थी अवर्गीकृत बनेका छन् भने करिब ५८ प्रतिशतले पूरक परीक्षा पार गरेका छन्।
पूरक परीक्षा साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन गरिएको थियो। गत वैशाखमा भएको वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन-ग्रेडेड’ पाएका वा अनुपस्थित भएकालाई यस पटक पुनः अवसर दिइएको थियो।
एसईईलाई विद्यार्थीको शैक्षिक यात्रामा निर्णायक मानिन्छ, तर उत्तीर्ण र अनुत्तीर्ण हुने संख्या वर्षैपिच्छे शिक्षाको गुणस्तर, विद्यार्थीको तयारी र नीति-निर्माणसँग जोडिएको बहसलाई तीब्र बनाउँदै आएको छ। यस वर्षको नतिजाले पनि शिक्षा क्षेत्रमा अझै गहिरो सुधार र स्पष्ट रणनीतिको आवश्यकता रहेको संकेत गरेको छ।