प्रधानमन्त्री कार्कीसँग मिराज ढुंगानाको भेट, जेनजी आन्दोलनपछि पहिलो सार्वजनिक सक्रियता!

जेनजी आन्दोलनको गृहकार्यताका सामाजिक सञ्जालमार्फत चर्चामा आएका मिराज ढुंगाना शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भेटिएका छन्। प्रधानमन्त्री निवास स्रोतका अनुसार उनीहरूले अनौपचारिक रूपमा कुराकानी गरेका थिए।
ढुंगाना जेनजी आन्दोलन सुरु हुनु अघिल्लो दिन व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न गएको घटनापछि विवादित बनेका थिए। उनले त्यसबेला आफू प्रसाईंलाई आन्दोलनमा सहभागी नहुन आग्रह गर्न गएको स्पष्टीकरण दिएका थिए। तर आन्दोलनका प्रमुख दिनहरू—भदौ २३ र २४ मा भने उनी सडकमा देखिएनन्। ढुंगानाले विभिन्न युवाबाट ‘आएमा विरोध गर्ने’ चेतावनी पाएको कारण सडकमा ननिस्किएको दाबी गरेका छन्। उनका अनुसार उनी त्यतिबेला आफ्नै फुलको व्यवसायमा व्यस्त थिए।
आन्दोलनपछिको चर्चामा ढुंगाना ओझेलमा परे। त्यसबेला सुधन गुरुङ आकस्मिक रूपमा जेनजी आन्दोलनका अगुवा पात्रका रूपमा अघि आएका थिए। गुरुङलाई सैनिक हेडक्वाटरदेखि शीतलनिवाससम्म पहुँच बनाएको आरोपसहित आन्दोलनलाई ‘हाइज्याक’ गरेको आलोचना समेत हुँदै आएको छ।
यसबीच ढुंगानाको गतिविधि सार्वजनिक रूपमा देखिएको थिएन। तर पछिल्ला दिनमा उनी पुनः सक्रिय बन्दै देखिएका छन्। बालुवाटारमा भएको आजको भेटलाई केहीले ‘फेरि बाहिर निस्किएको संकेत’का रूपमा व्याख्या गरेका छन्।
जेनजी आन्दोलनले मुलुकको राजनीतिक प्रवाहलाई गहिरो प्रभाव पारेको सन्दर्भमा आन्दोलनका मूल पात्रहरूको भूमिकाबारे प्रश्न अझै बाँकी छ। ढुंगानाको पुनः सक्रियता आगामी राजनीतिक चरणमा कस्तो प्रभाव पार्छ भन्ने प्रतीक्षा अहिले पनि उस्तै छ।