चाडपर्वमा अनियन्त्रित मदिरा सेवन दुर्घटनाको कारण बन्ने गरेको प्रहरी प्रमुख कार्कीको चेतावनी
काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वमा मदिरा सेवनलाई मनोरञ्जनसँग जोड्ने प्रवृत्ति नेपाली समाजमा गहिरिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। आइतबार सम्पन्न चाडपर्व लक्षित ट्राफिक वाक कार्यक्रमको समापनमा उनले अनियन्त्रित मदिरा सेवनले उल्लासभन्दा बढी दुर्घटना र पीडाको कारण बन्दै गएको बताए।
उनका अनुसार, कतिपयले पर्वलाई रमाइलो बनाउने नाममा अत्यधिक मदिरा सेवन गरेर आफैंलाई जोखिममा पार्ने मात्रै होइन, अरूको जीवनलाई पनि खतरा पुर्याउने अवस्था देखिएको छ। “मनोरञ्जनको पर्यायवाची मादक पदार्थ भन्ने गलत बुझाइका कारण धेरै होनहार व्यक्तिले जीवन गुमाएका छन्,” कार्कीले भने।
सचेतना आवश्यक रहेको भन्दै उनले चाडपर्वको समयमा अनिवार्य रूपमा ट्राफिक नियम पालना गर्न, संयमता अपनाउन र पर्वलाई शान्तिपूर्ण ढंगले मनाउन सबैमा अपिल गरे। प्रहरी प्रमुख कार्कीका अनुसार उत्सवको वास्तविक सार उल्लास होइन, जिम्मेवारी र सुरक्षाभावसँग जोडिनुपर्छ।