समाचार

पर्यटन विकासमा निजी क्षेत्रको भूमिका निर्णायक भएको सचिव मैनालीको भनाइ

पर्यटन विकासमा निजी क्षेत्रको भूमिका निर्णायक भएको सचिव मैनालीको भनाइ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले नेपालको पर्यटन विकासमा निजी क्षेत्रको भूमिका निर्णायक रहेको बताएका छन्। विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सरकार नियामक र समन्वयकारी भूमिकामा रहे पनि वास्तविक प्रवद्र्धन र कार्यान्वयनमा निजी क्षेत्र अग्रपंक्तिमा देखिएको बताए।

“नेपालको पर्यटन भन्नासाथ निजी क्षेत्रको भूमिका अग्रणी हुन्छ,” सचिव मैनालीले भने, “सरकार नियामक निकाय, पहुँचकर्ता र समन्वयकर्ता हो, तर पर्यटन क्षेत्रलाई अघि बढाउने काममा निजी क्षेत्र अग्रपंक्तिमा छ।”

उनका अनुसार मन्त्रालयले नीति सुधार, सरकारी तहबीचको समन्वय र संस्थागत सहकार्यलाई प्राथमिकतामा राखेको छ। संघ, प्रदेश र स्थानीय तहबीचको तालमेल, निजी क्षेत्रसँगको सहकार्य र पर्यटनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न निकायहरूसँगको निरन्तर संवादले मात्रै दीगो पर्यटन सम्भव हुने उनको भनाइ थियो।

नेपाल पर्यटन बोर्डलगायत अन्य निकायहरूसँग मन्त्रालयले निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै उनले निजी क्षेत्रलाई सकारात्मक वातावरणमा सहकार्य गर्न सधैं तयार रहेको स्पष्ट पारे। नीतिगत संवाददेखि लेकर व्यावहारिक कामसम्म निजी क्षेत्रको साथ र समर्थनलाई उच्च मूल्यांकन गर्नुपर्नेमा उनले जोड दिए।

पर्यटन उद्योग मुलुकको अर्थतन्त्र, रोजगारी र सांस्कृतिक सम्पदाको संरक्षणसँग प्रत्यक्ष जोडिएको भएकाले सरकारी–निजी साझेदारी अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको सरोकारवालाले औंल्याउँदै आएका छन्। यसै सन्दर्भमा सचिव मैनालीको भनाइले नेपालको पर्यटन क्षेत्रलाई दीगो र प्रतिस्पर्धी बनाउन बहुपक्षीय सहकार्य अपरिहार्य रहेको तथ्यलाई पुनः उजागर गरेको छ।