समाचार

घिसिङको ठूलो घोषणा: अब ग्यास र पेट्रोल होइन, पुरै नेपाल विद्युतीय!

घिसिङको ठूलो घोषणा: अब ग्यास र पेट्रोल होइन, पुरै नेपाल विद्युतीय!

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपाललाई दिगो ऊर्जा प्रयोगतर्फ लैजान ट्रान्सपोर्टेसन र कुकिङ क्षेत्र पूर्ण रूपमा विद्युतीय बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

आइतबार काठमाडौंमा इभी चार्जिङ स्टेसनको उद्घाटन गर्दै उनले पेट्रोलियम पदार्थको आयात घटाउन र विदेशी मुद्रा सञ्चिति मजबुत बनाउन ऊर्जा संक्रमण अपरिहार्य भएको बताए। उनका अनुसार सार्वजनिक यातायातदेखि निजी सवारी साधनसम्म सबैलाई विद्युतीय माध्यममा रूपान्तरण गर्ने सरकारको स्पष्ट लक्ष्य छ।

घिसिङले कुकिङ क्षेत्रमा एलपी ग्यासलाई विस्थापित गरी विद्युतमार्फत खाना पकाउने प्रविधि अपनाउनुपर्नेमा जोड दिए। “ग्यासलाई रिप्लेस गरेर ऊर्जा संक्रमणमा जानु आवश्यक छ। धेरै क्षेत्रमा फ्युल र कोललाई बिजुलीले प्रतिस्थापन गर्न सक्छ,” उनले स्पष्ट पारे।

उनले नेपालमा उत्पादित जलविद्युत ऊर्जा सबै क्षेत्रमा प्रयोग गर्नुपर्ने भन्दै ग्रीन हाइड्रोजन, औद्योगिक उत्पादन र इँटा उद्योगमा समेत विद्युत प्रयोग बढाउनुपर्ने आवश्यकता औंल्याए। कार्बन उत्सर्जन न्यून भएको नेपालले कार्बन न्यूट्रल मात्र नभई कार्बन नेगेटिभतर्फ जानुपर्ने उनले बताए।

“यसका लागि आवश्यक पूर्वाधार, विशेष गरी चार्जिङ स्टेसन विस्तार अनिवार्य छ,” मन्त्री घिसिङले भने। उनले ऊर्जा उपयोगको नयाँ युग सुरु भइसकेको उल्लेख गर्दै आगामी दिनमा नेपालको भविष्य हाम्रै जलविद्युतले उज्यालो बनाउने विश्वास व्यक्त गरे।