समाचार

मन्त्री महावीर पुनको कडा प्रश्न: त्रिवि किन नतिजा निकाल्न सक्दैन?

मन्त्री महावीर पुनको कडा प्रश्न: त्रिवि किन नतिजा निकाल्न सक्दैन?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सुधारका लागि ठोस योजना पेश गर्न पदाधिकारीलाई निर्देशन दिएका छन्। आइतबार बिहान उपकुलपति दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी, रजिस्ट्रार केदारप्रसाद रिजालसहितका डिनहरूसँग मन्त्रालयमा भएको छलफलमा उनले विश्वविद्यालयको वर्तमान अवस्था र सुधारका कदमबारे स्पष्ट धारणा मागे।

मन्त्री पुनले विशेषगरी समयमा नतिजा प्रकाशित गर्न नसक्नु, अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्न असफल हुनुजस्ता समस्याको समाधानबारे जिज्ञासा राख्दै तत्काल कार्यान्वयन गर्न सकिने योजना पेस गर्न आग्रह गरे। मन्त्रालयका एक अधिकारीका अनुसार, “त्रिविको अहिलेको स्थिति के हो, सुधारका लागि तत्काल र दीर्घकालीन आइडिया के छन् भन्नेबारे मन्त्रीज्यूले सोध्नुभएको थियो।”

छलफलमा सहभागी त्रिवि पदाधिकारीहरूले पनि सुधारका मुद्दा प्राथमिकतामा ल्याउनुपर्नेमा सहमति जनाएको स्रोतले जानकारी दियो। उनीहरूको भनाइअनुसार, त्रिविमा विद्यार्थी संख्या र व्यवस्थापनसम्बन्धी स्पष्ट डेटाबेस तयार गर्नुपर्ने, सय दिनभित्र नतिजा प्रकाशन सुनिश्चित गर्नुपर्ने र अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षित गर्ने रणनीति बनाउनुपर्ने विषय उठाइएको छ।

मन्त्री पुनको आग्रहलाई त्रिवि सुधारको दबाबका रूपमा लिइएको छ। मुलुककै पुरानो र ठूलो विश्वविद्यालयले सुधारको ठोस खाका पेस गर्न नसके त्यसले शिक्षा क्षेत्रमै प्रश्न उठाउने भन्दै सरोकारवालाले गम्भीर छलफललाई सकारात्मक परिणामतर्फ लैजानुपर्ने अपेक्षा व्यक्त गरेका छन्।