डा. महतको दाबी: कांग्रेस फेरि उठ्छ, लोकतन्त्र कमजोर पार्ने शक्ति कहिल्यै सफल हुँदैन!
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी फेरि सशक्त रूपमा उठ्ने विश्वास व्यक्त गरेका छन्। आइतबार महाराजगञ्जस्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले लोकतन्त्रलाई कमजोर पार्ने वा देशलाई अस्थिर बनाउन खोज्ने कुनै पनि शक्ति सफल नहुने दाबी गरे।
उनका अनुसार पछिल्ला गतिविधिहरू राजनीतिक दलहरूको आत्मविश्वास कमजोर पार्ने षड्यन्त्रको हिस्सा हुन्। तर कांग्रेस त्यसको शिकार नबन्ने भन्दै उनले पार्टी अझ दृढतापूर्वक लोकतन्त्र, जनता र राष्ट्रको पक्षमा उभिने बताए। महतले पार्टी कार्यालय र नेताहरूको घरमा भएको तोडफोड तथा आगजनीजस्ता घटनाले पनि कांग्रेसको आत्मबल कम गर्न नसक्ने जिकिर गरे।
“हामी देश र जनतालाई माथि राखेर पुनः उठ्छौं,” उनले भने, “लोकतन्त्रको रक्षा र देशको मजबुतीका लागि कांग्रेस एकीकृत भएर अगाडि बढ्छ।”
महतले पार्टीभित्रका कमजोरी र त्रुटिको आत्मसमीक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ सोचसहित विकास, निर्माण र रोजगारीलाई प्राथमिकतामा राख्ने बताए। उनका अनुसार, नेपाली कांग्रेस बलिदान र त्यागबाट बनेको पार्टी भएकाले यसलाई कमजोर पार्ने कुनै षड्यन्त्र सफल हुने छैन।
पार्टीपंक्तिलाई एकताबद्ध भई आत्मविश्वास कायम गर्न आग्रह गर्दै उनले लोकतान्त्रिक मूल्य र राष्ट्रिय हितको पक्षमा कांग्रेस निरन्तर दृढतापूर्वक उभिने आश्वासन दिए।