समाचार

बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ हात्तीसारमा शनिबार राति जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

मृतक ४२ वर्षीया सीता खत्रीलाई राति ११ बजे खेतमा धान हेरेर फर्किने क्रममा हात्तीले आक्रमण गरेको थियो। घटनास्थलमै उनको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले जानकारी दिए।

पौडेलका अनुसार मृतकको शव आज पोस्टमार्टम गरी परिवारलाई बुझाउने तयारी भइरहेको छ। खत्रीका श्रीमान् चित्र बहादुर खत्री निकुञ्जकै हात्तीसारका कर्मचारी हुन्। उनका तीन छोरी र एक छोरा रहेका छन्।

धान पाक्ने सिजनमा बर्दियामा जंगली हात्ती खेतमा प्रवेश गर्ने क्रम बढ्ने गर्छ। यस क्रममा किसानले धान जोगाउने प्रयास गर्दा दुर्घटना हुने गरेको छ। गत माघ ३० गते पनि ठाकुरबाबा–२ बलातीमा ७१ वर्षीय बोलीराम थारूको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।

Bardiya Elephant hatti attack