समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध, तुइन खोलामा फेरि पहिरो

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध, तुइन खोलामा फेरि पहिरो

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ तुइन खोला नजिक सुख्खा पहिरो खस्दा आज दिउँसोदेखि दुईतर्फी यातायात ठप्प भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।

गत शुक्रबार साँझ खसेको पहिरो हटाएपछि करिब तीन दिन मात्र यातायात सञ्चालनमा आएको थियो। तर, सोही स्थानमा निरन्तर पहिरो खसिरहेको भन्दै डिभिजनले जोखिम कायमै रहेको जनाएको छ।

कार्यालयका अनुसार पहिरो खस्ने क्रम पूर्ण रूपमा रोकिएपछि मात्रै सडक खुलाउने काम सुरु गरिनेछ। हाल अवरुद्ध अवस्थामा फसेका सवारीसाधनलाई लेन अनुशासन पालना गर्दै अत्यधिक सतर्क रहन अनुरोध गरिएको छ।

यसअघि पनि वर्षा र सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ, जसले राष्ट्रिय राजमार्गमा आवतजावत गर्ने यात्रु र व्यवसायीलाई निरन्तर समस्या थपिरहेको छ।

Mugling Narayangadh Pahiro