समाचार

प्रधानमन्त्री कार्कीले यस वर्ष दशैंमा टीका–जमरा नलगाउने घोषणा!

प्रधानमन्त्री कार्कीले यस वर्ष दशैंमा टीका–जमरा नलगाउने घोषणा!

प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष बडादशैंको टीका–जमरा नलगाउने निर्णय सार्वजनिक गरेकी छन्। सोमबार जारी सन्देशमार्फत उनले हालै सम्पन्न युवापुस्ताको आन्दोलनमा धेरै युवाले ज्यान गुमाएको पीडा अझ ताजै रहेको भन्दै यसपटक व्यक्तिगत रूपमा टीका–जमरा नलगाउने र देशवासीलाई टीका लगाउने औपचारिक कार्यक्रम पनि नगर्ने जानकारी गराएकी हुन्।

उनले भनेकी छन्, “बडादशैं प्रत्येक वर्ष उल्लासपूर्वक मनाइने पर्व हो। तर हालै सम्पन्न युवापुस्ताको आन्दोलनमा भएको ज्यानको क्षतिले हामीलाई गहिरो दुःख दिएको छ। त्यसैले यसवर्ष मैले टीका–जमरा नलगाउने निर्णय लिएको छु।”

प्रधानमन्त्री कार्कीले युवापुस्ताले चालेको अभूतपूर्व आन्दोलनकै आधारमा वर्तमान सरकार बनेको स्मरण गर्दै तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध रहेको र सुशासन कायम राख्ने प्रयत्न जारी रहने बताइन्। उनले राष्ट्रको समग्र हितका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने कामना गर्दै शान्ति, स्थायित्व र समृद्धिको मार्गमा सबै नेपालीलाई सहकार्यसहित अघि बढ्न आह्वान गरिन्।

दशैंको अवसरमा प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै चाडलाई व्यक्तिगत शोक मात्र नभई साझा सांस्कृतिक मूल्य र जिम्मेवारीका रूपमा मनाउन आग्रह गरेकी छन्।