देउवाको दशैं सन्देश : संविधानमै सबै समस्याको समाधान!

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडादशैं २०८२ को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना दिएका छन्। शुभकामना सन्देशमार्फत उनले दशैंलाई पारिवारिक स्नेह, सामाजिक सद्भाव र आपसी एकतालाई अझ मजबुत बनाउने पर्वका रूपमा वर्णन गरेका छन्।
देउवाले नेपाललाई बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्रको रूपमा व्याख्या गर्दै विविधताबीचको अनुपम एकता नै नेपालीहरूको पहिचान भएको उल्लेख गरे। उनका अनुसार प्रत्येक बडादशैंले समुदाय, संस्था, परिवार र व्यक्तिबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने काम गरेको छ।
गत भाद्र २३ र २४ गते भएको जेन–जेड आन्दोलनतर्फ संकेत गर्दै उनले सुरक्षाकर्मी र युवाहरूको मृत्यु भएको घटनालाई नेपालको इतिहासकै पीडादायक क्षणको रूपमा स्मरण गरे। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। साथै, आन्दोलनका क्रममा राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतदेखि राजनीतिक दलका कार्यालय र सर्वसाधारणका सम्पत्तिमा भएको तोडफोड र आगजनीप्रति गम्भीर चिन्ता व्यक्त गरे।
राजनीतिक समस्याको समाधान संविधानमार्फत खोजिनु पर्नेमा जोड दिँदै देउवाले सात दशक लामो संघर्षपछि बनेको संविधानलाई नेपाली जनताको प्रतिनिधि सभामार्फत तयार गरिएको ऐतिहासिक दस्तावेजका रूपमा व्याख्या गरे। उनका अनुसार, “संविधानमै सबै जटिलताका समाधान सम्भव छन्,” र यसले स्थिरता तथा प्रगतिको बाटो खुला गरेको छ।
दशैंको सांस्कृतिक तथा धार्मिक महत्त्वलाई स्मरण गराउँदै देउवाले अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजय दिने सन्देश आत्मसात गर्न आग्रह गरे। उनले सबै नेपालीमा आत्मबल, विवेक र सहकार्यको भावना अभिवृद्धि होस् र यो पर्वले सहिष्णुता र एकतालाई अझ गहिरो बनाओस् भन्ने शुभकामना पनि व्यक्त गरे।