समाचार

जनकपुरधामसहित मिथिलाञ्चलका दुर्गा मन्दिरमा सप्तमीका दिन आँखा उघार्ने विधि सम्पन्न!

जनकपुरधामसहित मिथिलाञ्चलका दुर्गा मन्दिरमा सप्तमीका दिन आँखा उघार्ने विधि सम्पन्न!

जनकपुरधामसहित मिथिलाञ्चलका विभिन्न दुर्गा मन्दिरमा आज सप्तमीको विशेष पूजासँगै देवी दुर्गाको नवनिर्मित प्रतिमामा आँखा उघार्ने विधि सम्पन्न गरिएको छ। दशैंका अवसरमा स्थापित हुने दुर्गा प्रतिमामा परम्पराअनुसार आँखा बनाइँदैन, जसलाई सप्तमीका दिन मात्र धार्मिक विधिअनुसार खोल्ने चलन रहेको छ।

यसका लागि षष्ठीको दिन बेल जोडीलाई निमन्त्रण गर्ने परम्परा रहिआएको छ। सप्तमीका दिन श्रद्धालु भक्तजन गाजाबाजासहित पालकी बोकेर मुख्य पूजारीको अगुवाइमा बेल तोड्न जान्छन्। शिव–पार्वतीको प्रतीक मानिने दुई बेललाई विशेष हतियार प्रयोग गरेर एकै पटक काटिन्छ र त्यसलाई पालकीमा राखी पूजास्थलमा ल्याइन्छ।

त्यसपछि ती बेललाई दुर्गा प्रतिमा रहेको स्थानमा राखी बेलको पातको डाँठबाट प्रतिमामा आँखा उघारिन्छ। यसलाई दुर्गा पूर्णरूपमा प्रकट भएको क्षणका रूपमा लिइन्छ।

यस धार्मिक संस्कारसँगै मिथिलाञ्चलमा दशैंको वातावरण थप जीवन्त बन्ने गरेको छ। बेलतोडी सम्पन्न भएपछि राजदेवी मातालाई अर्पण गर्न महिलाले आज र भोली खोँईच भर्ने प्रथा पनि निरन्तर जारी रहने परम्परा छ। धार्मिक विधि र जनआस्थाको समिश्रणले दशैं केवल पूजाआजा मात्र नभई सामुदायिक एकताको गहिरो अभिव्यक्ति बनेको अनुभूति आज फेरि प्रस्ट भएको छ।