महासचिव भुषाल : प्रमुख नेताको अवकाश र सम्पत्ति छानबिन आवश्यक!
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले प्रमुख राजनीतिक नेताहरूलाई तत्काल विदा गर्नुपर्ने माग गर्दै देशमा नयाँ राजनीतिक अभ्यासको आवश्यकता औंल्याएका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले २३ भाद्रको जेन–जेड आन्दोलनले उठाएका मागहरूसँग आफूहरू सहमत रहेको स्पष्ट गर्दै मुख्य नेताहरूको अवकाशले मात्र दलभित्र र समाजमा नयाँ आशा जगाउने बताए।
उनका अनुसार संविधान जारी भएपछि आजसम्मको राजनीतिक अभ्यासको मूल्यांकनसहित स्वेतपत्र जारी गर्नुपर्छ। साथै, विगतमा सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन गर्ने उच्चस्तरीय आयोग गठन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो। उनले वामपन्थी दलभित्र विचार, राजनीति, संगठन र मुद्दामा भएको भ्रष्टाचारलाई स्वीकार गरी त्यसको शुद्धीकरण गर्दै वामपन्थी शक्तिहरूलाई पुनर्गठन र ध्रुवीकरण गर्नुपर्नेमा जोड दिए।
भुषालले आगामी दस वर्षभित्र काम गर्ने उमेरका सबै नेपालीलाई रोजगारी उपलब्ध गराउने, भ्रष्टाचारमुक्त सुशासनयुक्त राज्य निर्माण गर्ने र समाजवादको आधार तयार गर्ने ठोस कार्यक्रम अगाडि ल्याउनुपर्ने प्रस्ताव गरे। यसका लागि अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिन र लोकतान्त्रिक स्थिरताका आधारमा नेपालको समृद्धि सुनिश्चित गर्ने साझा अभियान आवश्यक रहेको उनको तर्क थियो।
उनले संविधानलाई असफल पार्ने सम्भावनालाई रोक्न बलियो लोकतान्त्रिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिँदै, वर्तमान नेतृत्व बहाना बनाएर पद जोगाउने तर जनतामाझ अस्वीकृत हुने चेतावनी दिए। भुषालका अनुसार निर्वाचनअघि संविधान संशोधनको माग चर्किन सक्ने, परम्परावादी तथा राष्ट्रवादी शक्तिहरू सामाजिक असन्तुष्टिलाई उपयोग गर्ने र पपुलिस्ट तथा अराजक आन्दोलनहरू सडकमा बढ्ने जोखिम देखिन्छ।
यस्ता चुनौतीपूर्ण सम्भावनालाई रोक्न वामपन्थी आन्दोलनका सबै इमान्दार राजनीतिकर्मीहरू तत्काल सक्रिय हुनुपर्ने उनको आग्रह थियो। उनले राजनीतिक स्थिरता र सामाजिक विश्वास पुनःस्थापना गर्न मिलेर काम नगरे त्रासदीपूर्ण अवस्था निम्तिन सक्ने चेतावनी पनि दिए।