प्रचण्डको दशैं सन्देश : जेन-जिका मागलाई समर्थन, विशेष महाधिवेशनमा युवाको प्रतिनिधित्व!

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विजया दशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु, समृद्धि र निरन्तर प्रगतिका लागि शुभकामना दिएका छन्। सोमबार जारी सन्देशमार्फत उनले दशैंलाई सामाजिक एकता र अग्रगमनको प्रेरणास्रोतका रूपमा लिन आग्रह गरे।
उनले पार्टीले जेन-जिआन्दोलनका मागलाई समर्थन गरेको र पछिल्लो राजनीतिक परिस्थितिले उत्पन्न गरेको जनमनोविज्ञानलाई आत्मसात गर्दै संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु भइसकेको जानकारी दिए। उनका अनुसार, हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षापछि आगामी मंसिरमा हुने विशेष महाधिवेशनमार्फत युवाहरू, विशेष गरी जेन–जेड पुस्ताको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको छ।
दाहालले पार्टीले जनयुद्धदेखि संविधान निर्माण र कार्यान्वयनसम्म निर्वाह गरेको जिम्मेवारीलाई निरन्तरता दिँदै हालको तरल राजनीतिक अवस्थालाई अग्रगामी रूपान्तरणतर्फ अघि बढाउन प्रतिबद्ध रहेको दोहोर्याए। उनका अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारीसहित संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका विषयहरू अहिले फेरि उठान भएको छ, जसलाई गम्भीर आत्मसमीक्षासहित सम्बोधन गर्नुपर्ने चुनौती वर्तमानमा उभिएको छ।
दशैंलाई केवल धार्मिक पर्व मात्र नभई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र पारिवारिक पुनर्मिलनलाई बलियो बनाउने अवसरका रूपमा लिनुपर्ने दाहालको भनाइ थियो। उनले शोकलाई शक्तिमा बदल्ने प्रेरणा लिनुका साथै सामाजिक एकता र समृद्ध नेपालको यात्रामा योगदान पुर्याउने संकल्पसहित पर्वलाई मनाउन सबैलाई आह्वान गरे।