समाचार

टुँडिखेलमा राष्ट्रपति पौडेलको उपस्थितिमा फूलपाती बढाइँ समारोह सम्पन्न!

टुँडिखेलमा राष्ट्रपति पौडेलको उपस्थितिमा फूलपाती बढाइँ समारोह सम्पन्न!

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सोमबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न भयो। नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो।

समारोहमा सेनाको टोलीले राइफलबाट लहरे तथा एकठ्ठा फायरिङसहित तोपबाट बढाइँ गरेको थियो। साथै सैनिक परेड, दुर्गा नाच, सेनाको हेलिकप्टरबाट व्यानर प्रदर्शन र पुष्पवृष्टि गरी कार्यक्रमलाई भव्य बनाइएको थियो।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिपरिषद्का सदस्यलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो।

फूलपाती बढाइँलाई धर्म, संस्कृति र परम्पराको निरन्तरता दिने मौलिक कार्यक्रमका रूपमा लिइन्छ। गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत मिलाएर भित्र्याएपछि टुँडिखेलमा बढाइँ गर्ने परम्परा आज पनि कायम छ। बडादशैंको सप्तमीका दिन सेनाले हरेक वर्षजस्तै यसपटक पनि उत्साहपूर्वक फूलपाती बढाइँ गरी राष्ट्रिय संस्कृतिलाई सजीव बनाएको अनुभूति गराइयो।