मौसम पूर्वानुमान : सोमबार देशका विभिन्न भागमा वर्षा र चट्याङको सम्भावना
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार पनि देशभर मनसुनी वायूको प्रभाव कमजोर रहे पनि स्थानीय वायूको असर कायम रहेको जनाएको छ। विभागका अनुसार हाल सबै प्रदेशका पहाडी भूभागमा सामान्य बदली छ, भने केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा वर्षा र चट्याङको सम्भावना बढी रहेको विभागले उल्लेख गरेको छ। यी प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षा पर्न सक्ने अनुमान छ भने बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा पनि वर्षा हुने सम्भावना छ। तराईका केही भागमा समेत मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।
कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा पर्न सक्ने चेतावनी दिइएको छ। राति गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै भागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली मात्र रहने विभागको भनाइ छ।
आज राति गण्डकीका केही स्थान, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। मौसमविद्हरूले यी सम्भावनालाई ध्यानमा राख्दै वर्षासम्बन्धी सतर्कता अपनाउन सुझाव दिएका छन्, किनभने भारी वर्षा र चट्याङको प्रभावले स्थानीय जनजीवन र यातायातमा असर पार्न सक्ने देखिन्छ।