दुर्गा पूजामा मिथिलाञ्चलको अद्वितीय संस्कार—खोइँछ भर्ने विधिमा महिलाको सहभागिता

नवरात्रको अवसरमा जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरमा सोमबार विहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ। मध्यरात १२ बजेदेखि नै भक्तजनहरूले देवीलाई प्रसाद चढाउन सुरु गरेका थिए भने विवाहित मैथिल महिलाहरूले परम्परागत रूपमा ‘खोइँछ’ भर्ने विधि सम्पन्न गरेका छन्।
खोइँछ (पोल्टा) भर्ने परम्परा मिथिलाञ्चलको पुरानो धार्मिक–सांस्कृतिक अभ्यास हो। विवाहित महिलाले दुबो, धान, बेसारको गिँड, सिन्दूर, सुपारी, पान र भेटी राखिएको पोका देवी दुर्गाको पोल्टामा अर्पण गर्ने गर्छन्। यसलाई समृद्धि, परिपूर्णता र भावनात्मक आशीर्वादको प्रतीक मानिन्छ।
स्थानीय विश्वासअनुसार भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइत आउँछिन्, नौ दिनसम्म त्यहीँ बस्छिन् र विजयादशमीका दिन ससुराली फर्किन्छिन्। यही विश्वाससँग जोडेर महिलाले खोइँछ भर्ने परम्परा निभाउने गर्छन्। धानलाई अन्नपूर्णा देवीको प्रतीक, दुबोलाई भगवान् शिवको कृपा, बेसारलाई विष्णु र सिन्दूरलाई सौभाग्यको प्रतीकका रूपमा मानिन्छ।
मिथिला संस्कृतिमा यो विधि केवल नवरात्रको पूजा मात्र नभई जीवनचक्रको विभिन्न चरणसँग पनि गाँसिएको छ। महिलाले माइतबाट ससुराली वा ससुरालीबाट माइती जाँदा, अथवा कुलदेवता वा देवीको मन्दिरमा जानेबेलामा पनि खोइँछ भर्ने परम्परा जीवित छ।
राजदेवी मन्दिरमा यसरी अर्पण गरिएको खोइँछलाई देवीप्रति भक्ति, परिवारको कल्याण र सन्तान–सौभाग्यको सामूहिक प्रार्थनासँग जोडेर हेर्ने गरिन्छ, जसले मिथिलाञ्चलको सामाजिक–धार्मिक पहिचानलाई अझ जीवित राखेको छ।