फेसबुक स्टाटसको एक वाक्यले महेश बस्नेत फस्दै! साइबर ब्युरोमा अनुसन्धान सुरु
काठमाडौं । सामाजिक सञ्जालमार्फत शोभा पाठकलाई बेइज्जत गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोलाई पूर्वमन्त्री महेश बस्नेतमाथि थप अनुसन्धान अघि बढाउन निर्देशन दिइएको छ।
धादिङ्गकी जानुका (शोभा) पाठकले दिएको जाहेरीका आधारमा बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ। उनले आफ्नो फेसबुक वालमा “नेपालको राजनीतिमा एउटा भालु पछिल्लो समय जहाँ पनि छरपष्ट बौलाउँदै हिँडिरहेको छ” भन्ने अभिव्यक्ति प्रयोग गरेको प्रसङ्गमा अनुसन्धान सुरु भएको बताइन्छ।
जिल्ला सरकारी वकिल कार्यालयले असोज ५ गते साइबर ब्युरोलाई पत्र पठाउँदै सो अभिव्यक्ति वास्तवमा कसलाई लक्षित गरिएको हो भन्नेबारे बस्नेतलाई लिखित स्पष्टीकरण माग्न निर्देशन दिएको छ। साथै, “महेश बस्नेत फ्यान क्लब” नामक फेसबुक पेज कसको नाममा सञ्चालन भएको हो भन्नेबारे पनि अनुसन्धान गर्न भनिएको छ।
जिल्ला न्यायाधिवक्ता उदयचन्द्र अधिकारीले तयार पारेको पत्रमा थप अनुसन्धान गरी त्यसको आधारमा राय पेस गर्न सक्कल मिसिल ब्युरोमा पठाइएको उल्लेख गरिएको छ।
यो घटनाले सामाजिक सञ्जालको प्रयोग, राजनीतिक व्यक्तित्वमाथि हुने आलोचना र कानुनी सीमा सम्बन्धी बहस फेरि सतहमा ल्याएको छ।