समाचार

६० भन्दा बढी अनाथको आमा: गीता आमाको दशैं विशेष कथा!

६० भन्दा बढी अनाथको आमा: गीता आमाको दशैं विशेष कथा!

जब देश दशैंको रौनकमा रंगिन्छ, इटहरीको एउटा घरमा भने यो पर्व फरक अर्थमा मनाइन्छ। त्यहाँ दशैंको तयारी बालबालिकाका हाँसो र मायाले भरिएको छ, तर त्यो घरका आमा भने परम्परागत अर्थमा आमा होइनन्। उनी हुन् गीता गौतम — जसलाई सबैले ‘गीता आमा’ भनेर चिन्छन्।

गीता आमा अविवाहित हुन्। आफ्नै परिवार बसाउनुभएन, तर विगत चार दशकदेखि उनले सयौँ असहाय बालबालिकाको जीवनलाई अँगालोमा च्यापेकी छन्। बाबुआमाले छाडेका, सडकमा भेटिएका वा जन्मिनासाथै अस्वीकार गरिएका नानीहरूलाई आश्रय दिन उनी अग्रसर भइन्। उनले २०३८ साल वैशाख २९ गते तीन नानीसहित “निःसहाय बालबालिका सेवा आश्रम” सुरु गरेकी थिइन्। सुरुमा झुपडीजस्तो आश्रम थियो, स्रोतसाधन कम थिए, तर माया भरपूर थियो। यही माया अहिले ६० भन्दा बढी बालबालिकाको आधार बनेको छ।

स्वयं अनाथ भएर हुर्केकी गीता आमाले जीवनको पीडा बाटैबाट सेवा जन्माइन्। उनका शब्दमा, “नानीहरूको काख च्यातिएको छ, तर मसँग माया बाँड्ने छाती छ।” यही मायाले कतिपय नानीहरूलाई नर्स, व्युटिसियन वा विदेशमा परिवार बसाउने बाटो खोलिदिएको छ। कतिपय विवाह गरेर नयाँ संसार बनाए, तर सबैको एउटै आमा छिन् — गीता आमा।

चाडपर्वमा उनी झन् व्यस्त हुन्छिन्। दशैंबारे उनी भन्छिन्, “हामीलाई भन्दा पनि यिनै नानीहरूको अनुहारमा हाँसो देख्दा मात्रै दशैं हुन्छ।” आश्रम सञ्चालनका लागि मासिक डेढ लाखभन्दा बढी खर्च लाग्छ। सहयोग गर्नेहरू जन्मदिनमा, पितृश्राद्धमा वा विद्यालयमार्फत टुक्रा–टुक्रामा योगदान ल्याउँछन्।

तर यसपटकको दशैं उनीका लागि खल्लो छ। हालैको जेन–जेड आन्दोलनमा नानीहरूलाई गोली हानी मारिएको दृश्य देख्दा उनी भन्छिन्, “अनाथलाई भविष्य दिन म जीवनभर खटिरहेँ, तर राज्यले आफ्नै नानीहरूलाई गोली हानेर मार्छ भने त्यो सबैभन्दा ठूलो पीडा हो।”

गीता आमाको योगदानलाई कदर गर्दै देश–विदेशमा सम्मानका हात बढिरहेका छन्। तर उनी भन्छिन्, “काम नै निरन्तर गर्नु हो, परिणामस्वरूप सम्मान आउँछ।” उनका लागि सबैभन्दा ठूलो पुरस्कार भनेका नानीहरूको हाँसो नै हो।

दशैंलाई केवल नयाँ लुगा र परिकार खाने चाड मात्र होइन, अरूलाई खुशी बाँड्ने अवसरका रूपमा बुझ्नुपर्ने सन्देश गीता आमाको जीवनले दिन्छ। उनले आफ्नै जीवनलाई मैनबत्तीझैँ जलाएर सयौँ अनाथ बालबालिकाको जीवन उज्यालो बनाएकी छिन्। यस दशैंमा, यिनीजस्ता असली मानवीय पात्रलाई सम्झँदै, हामीले पनि आफ्ना खुशीलाई अरूसँग बाँड्ने प्रेरणा लिनुपर्ने देखिन्छ।