१७ हजार बालबालिका कुपोषणमा पीडित, अस्पतालमा बेड र औषधि नै अभाव!

गाजा पट्टीमा लगातार बढ्दो कुपोषण र अनिकालका कारण दिनहुँजसो महिला र बालबालिकाले ज्यान गुमाइरहेका छन्। स्थानीय चिकित्सा स्रोतका अनुसार हालसम्म १५० बालबालिकासहित कम्तीमा ४५३ जनाको मृत्यु भइसकेको छ।
एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (IPC) ले गाजामा औपचारिक रूपमा अनिकाल घोषणा गरेपछि मात्र ३५ बालबालिकासहित १७५ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ। अस्पतालहरूले भोकमरी र कुपोषणले कमजोर भएका सयौँ बिरामीलाई उपचार गरिरहेका छन्, तर पर्याप्त बेड र औषधिको अभावले थप चुनौती बढाएको छ।
स्रोतका अनुसार गाजामा हाल करिब १७ हजार बालबालिका गम्भीर कुपोषणसँग लडिरहेका छन्। तीमध्ये धेरैलाई भोकसँगै तनाव, स्मरणशक्ति ह्रास र अन्य स्वास्थ्य समस्याका लागि आकस्मिक उपचार गरिँदै छ।
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (UNRWA) ले इजरायली नाकाबन्दीका कारण पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको दर मार्चदेखि जुनको बीचमा दोब्बर भएको चेतावनी दिएको छ। एजेन्सीका अनुसार यस अवधिमा करिब ७४ हजार बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो, जसमा विश्वव्यापी मापदण्डअनुसार ५,५०० भन्दा बढी गम्भीर कुपोषणका घटना र ८०० भन्दा बढी तीव्र कुपोषणका घटना देखिएका छन्।
युद्ध, नाकाबन्दी र आवश्यक स्वास्थ्यसुविधाको अभावबीच गाजाका परिवारहरू अझ गहिरो मानवीय सङ्कटमा फसेका छन्। मानवीय सहायता समयमै पुग्ने वा नपुग्ने नै अब हजारौँ जीवनको अस्तित्वसँग गाँसिएको प्रमुख प्रश्न बनेको छ।