समाचार अर्थ

स्थानीय बजारमा सुनको मूल्य इतिहासमै उच्च

स्थानीय बजारमा सुनको मूल्य इतिहासमै उच्च

अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढिरहेको सुनको मूल्यले आज नेपाली बजारमा ऐतिहासिक उचाइ छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो।

मङ्गलबारसम्म प्रतितोला दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुन आज प्रतितोला दुई हजार रुपैयाँले बढेको हो। यसको विपरीत, चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले घटेर दुई हजार ४८० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुनको मूल्य प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, अमेरिकी डलरको उतारचढाव र सुरक्षित लगानीतर्फ लगानीकर्ताको आकर्षणले सुनको मूल्य लगातार बढिरहेको विश्लेषकहरूले जनाएका छन्।

नेपालमा सुनको मूल्य आयात लागत, विनिमय दर र अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष रूपमा प्रभावित हुने भएकाले आगामी दिनमा पनि उतारचढाव निरन्तर हुने देखिन्छ। यसले आभूषण व्यवसाय मात्र होइन, विवाह–व्रतजस्ता सांस्कृतिक अवसरमा सुनको मागमा समेत प्रत्यक्ष असर पार्ने सम्भावना रहन्छ।