समाचार खेल

आज राति ताजकिस्तानसँग भिड्दै नेपाल

आज राति ताजकिस्तानसँग भिड्दै नेपाल

एएफसी यु–२३ एसियन कप छनोटअन्तर्गत नेपालले आज राति ताजकिस्तानसँग पहिलो खेल खेल्दैछ। राजधानी डुसान्बेको पामीर रंगशालामा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुने तय छ।

नेपाल समूह ‘के’ मा परेको छ, जहाँ आयोजक ताजकिस्तानसँगै सिरिया र फिलिपिन्स पनि छन्। यस समूहका खेल सिङ्गल राउन्ड रोबिन प्रणालीमा हुनेछन्। समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एसियन कपमा सीधा प्रवेश पाउनेछ।

प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक नविन न्यौपानेले टोली राम्रो तयारीसहित डुसान्बे पुगेको बताउँदै जितका लागि खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले छनोट पार गर्ने लक्ष्यका साथ सबै खेल जित्ने उद्देश्य रहेको उल्लेख गर्नुभयो।

नेपालले दोस्रो खेल सेप्टेम्बर ६ मा सिरियासँग र अन्तिम खेल सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्ने तालिका तय भएको छ। समूह चरणमै प्रतिस्पर्धा सकिने भएकाले प्रत्येक खेलको परिणाम निर्णायक मानिएको छ।

यस पटकको अभियान नेपालका लागि चुनौतीपूर्ण छ, तर खेलाडी र प्रशिक्षकको मनोबललाई हेर्दा टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। अबको ध्यान आज रातिको खेलले नै नेपालको यात्रालाई कुन दिशामा लैजाने हो भन्नेमा केन्द्रित छ।