समाचार स्वास्थ्य

८० हजारको इन्जेक्सन अब भेरी अस्पतालमा निःशुल्क: पक्षघातबाट जोगिने हजारौंलाई राहत

८० हजारको इन्जेक्सन अब भेरी अस्पतालमा निःशुल्क: पक्षघातबाट जोगिने हजारौंलाई राहत

नेपालगन्जस्थित भेरी अस्पतालले अबदेखि मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क दिने भएको छ। अस्पतालका प्रमुख कन्सल्टन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेका अनुसार, यस इन्जेक्सनले मस्तिष्कघातपछि हुने पक्षघात (प्यारालाइसिस) रोक्न सक्ने भएकाले उपचारमा यसको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ। उहाँले लक्षण देखिएको साढे चार घण्टाभित्र इन्जेक्सन दिन सकिए बिरामीलाई पुरानै अवस्थामा फर्काउने सम्भावना उच्च हुने प्रष्ट पार्नुभयो।

अल्टेप्लेज इन्जेक्सनको मूल्य करिब ८० हजार रुपियाँ पर्ने भएकाले सामान्य बिरामीका लागि यो उपचार पाउनु कठिन थियो। अब अस्पतालले यसलाई निःशुल्क उपलब्ध गराउन थालेपछि विपन्न वर्गका धेरै बिरामी लाभान्वित हुने अपेक्षा गरिएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार पहिलो चरणमा २० भायल इन्जेक्सन भेरी अस्पतालमा उपलब्ध भएको छ। भरतपुर र काठमाडौँका सरकारी अस्पतालहरूमा यसअघि नै निःशुल्क सुविधा पाइँदै आएको भए पनि भेरी अस्पतालमा भने यसअघि उपलब्ध थिएन।

डा. सुवेदी र डा. पाण्डे लगायतको पहलपछि नेपालगन्जमै यो सुविधा सुरु भएको हो। यसले बाँके मात्र नभई बर्दिया, दाङ, सुर्खेत, दैलेख लगायत आसपासका जिल्लाका बिरामीलाई समेत ठूलो राहत दिने अपेक्षा गरिएको छ।

यसबीच, स्वास्थ्य मन्त्रालयले हालै मस्तिष्कघात उपचार तथा व्यवस्थापनसम्बन्धी नयाँ कार्यविधि सार्वजनिक गरेको छ। उक्त कार्यविधिले बिरामीलाई शीघ्र, गुणस्तरीय र समन्वित उपचार सुनिश्चित गर्ने, अत्यावश्यक औषधी तथा सेवा निःशुल्क उपलब्ध गराउने र समुदायमा जोखिम तथा लक्षणबारे सचेतना बढाउने प्रावधान समेटेको छ। चिकित्सकहरूले परिवार र समाजस्तरमै लक्षण पहिचान र प्राथमिक उपचारबारे जनचेतना विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

भेरी अस्पतालको यो कदमले स्वास्थ्य उपचारमा समान पहुँच बढाउने मात्र नभई ग्रामीण र सहर दुबैका बिरामीका लागि ज्यान बचाउने अवसरलाई थप बलियो बनाएको छ।