ग्लोबल आइएमई बैंकले फेरि जित्यो अन्तर्राष्ट्रिय अवार्ड: लगातार तेस्रो ‘बेस्ट बैंक’ उपाधि!

ग्लोबल आइएमई बैंक लिमिटेडले यस वर्ष पनि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति दर्ज गराउँदै ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गतको बेस्ट बैंक अवार्ड प्राप्त गरेको छ। बैंकका अनुसार सिंगापुरमा मंगलबार आयोजित विशेष समारोहमा युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रे«जरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई अवार्ड हस्तान्तरण गरे।
सन् १९९२ देखि युरोमनी म्यागजिनले प्रदान गर्दै आएको यो अवार्डलाई बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ। ग्लोबल आइएमई बैंकलाई यसपटक सेवा प्रदान गर्ने क्षमता, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, नयाँ प्रविधि प्रयोग, वातावरणीय तथा सुशासनलगायतका सूचकमा गरेको प्रगतिका आधारमा सम्मानित गरिएको हो।
युरोमनी म्यागजिन बैंक तथा वित्तीय क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि प्रख्यात मानिन्छ। यस समूहसँग सम्बन्धित मूल्यांकनकर्ताहरू विश्वका ख्यातिप्राप्त तथा अनुभवी वित्तीय विज्ञहरू हुन्।
ग्लोबल आइएमई बैंक यसअघि पनि युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेस्ट बैंक अवार्ड प्राप्त गरिसकेको छ। त्यस्तै, ग्लोबल फाइनान्सले पनि यसलाई २०२४ र २०२५ मा नेपालको उत्कृष्ट बैंकका रूपमा मान्यता दिएको थियो। यस वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक तेस्रो पटक ‘बेस्ट बैंक’ को उपाधि जित्न सफल भएको हो।
बैंकले हाल मुलुकका सबै ७७ जिल्लामा शाखा विस्तार गरेको छ। यसको सेवा सञ्जालमा ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, साथै ३ वटा विदेशी प्रतिनिधि कार्यालय समावेश छन्। संस्थाले देशभित्रका ग्राहकलाई सेवा प्रदान गर्नुका साथै अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, जापान, दक्षिण कोरिया, खाडी मुलुकहरूलगायतबाट रेमिट्यान्स भित्र्याउने कार्यलाई निरन्तरता दिँदै आएको छ।
अवार्डप्राप्तिलाई बैंकले आफ्ना ग्राहक, सेयरधनी र सरोकारवालाको निरन्तर विश्वास र समर्थनको प्रतिफलका रूपमा लिएको जनाएको छ। संस्थागत दाबीअनुसार, आगामी वर्षहरूमा पनि सेवा स्तर, प्रविधि, र सामाजिक उत्तरदायित्वमा अझ प्रभावकारी भूमिका खेल्दै बैंकिङ क्षेत्रलाई अघि बढाउने प्रतिबद्धता बैंकले दोहोर्याएको छ।