समाचार विदेश

अनुतिन चार्नविराकुल संसदमा बहुमतसहित थाइल्यान्डका नयाँ प्रधानमन्त्री निर्वाचित

अनुतिन चार्नविराकुल संसदमा बहुमतसहित थाइल्यान्डका नयाँ प्रधानमन्त्री निर्वाचित

वरिष्ठ थाई राजनीतिज्ञ अनुतिन चार्नविराकुल शुक्रबार संसदमा बहुमत मत प्राप्त गर्दै देशको नयाँ प्रधानमन्त्री बन्नुभएको छ। प्रत्यक्ष प्रसारण गरिएको मतदानको प्रारम्भिक परिणामअनुसार उहाँले आवश्यक दुई सय ४७ भन्दा बढी मत सुरक्षित गर्नुभयो। अब औपचारिक रूपमा राजा महा भाजिरालोङ्गकोर्नबाट नियुक्ति पाएपछि केही दिनमै उहाँले सरकार गठन गर्ने अपेक्षा गरिएको छ।

अनुतिनले पदभार ग्रहण गर्न लाग्नुको पृष्ठभूमि भने निकै विवादास्पद रह्यो। गत हप्ता प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई छिमेकी कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँगको फोनकल विवादका कारण अदालतले नैतिकता उल्लङ्घन गरेको ठहर गर्दै पदमुक्त गरेको थियो। सो विवादले जुलाईमा पाँच दिन लामो सशस्त्र द्वन्द्व भड्काएको थियो, जसले थाइल्यान्डको राजनीतिक संकटलाई अझ गहिरो बनायो।

पेटोङटार्नकै मन्त्रिपरिषद्मा मन्त्री रहेका अनुतिनले त्यसबेला पदत्याग गर्दै आफ्नो भूमजाइथाई पार्टीलाई गठबन्धन सरकारबाट फिर्ता लिनुभएको थियो। राजनीतिक संकट चुलिँदै जाँदा फेउ थाई पार्टीले संसद विघटनको प्रयास गरे पनि राजाको प्रिभी काउन्सिलले त्यसलाई अस्वीकार गरेको थियो।

सन् २०२३ को आमनिर्वाचनमा प्रधानमन्त्री पदका लागि पाँच योग्य उम्मेदवारमध्ये अनुतिन पनि एक हुनुहुन्थ्यो। तर पछिल्ला उतारचढावले कार्यबाहक सरकार कमजोर बनेको र सत्ता समीकरण फेरिएको देखियो। अन्ठाउन्न वर्षीय अनुतिनले यसअघि फेउ थाई नेतृत्वको गठबन्धन सरकार र पूर्वप्रधानमन्त्री प्रयुथ चान–ओचा अन्तर्गतको सेना समर्थित सरकार दुवैमा सेवा गरिसक्नु भएको छ।

उनको पार्टीले पिपुल्स पार्टीसँगको सम्झौता अनुसार चार महिनाभित्र संसद विघटन गर्ने वाचा गरेको छ। तर पिपुल्स पार्टीका नेता नाथाफोङ रुएङपान्यावुतले विपक्षमा बस्ने घोषणा गर्दै नयाँ सरकारलाई सम्भावित अल्पसङ्ख्यकमा धकेल्ने संकेत दिनुभएको छ।

थाइल्यान्डको राजनीतिक स्थायित्व नयाँ प्रधानमन्त्रीको हातमा निर्भर हुने देखिन्छ। अनुतिनले विश्वासको मत जिते पनि गठबन्धन व्यवस्थापन र आन्तरिक द्वन्द्व समाधान गर्ने चुनौती तत्कालै उहाँमाथि खनिने संकेत गरेका छन्।