समाचार

मानव बेचबिखनविरुद्ध प्रभावकारी अभियान सञ्चालन गरेको भन्दै पर्सा प्रहरी प्रमुख सम्मानित

मानव बेचबिखनविरुद्ध प्रभावकारी अभियान सञ्चालन गरेको भन्दै पर्सा प्रहरी प्रमुख सम्मानित

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस २० भदौका अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (प्रउप) गौतम मिस्त्रीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सम्मान गरेको छ। मन्त्रालयको वार्षिक मूल्यांकनमा ७७ जिल्लामध्ये मानव बेचबिखनविरुद्ध प्रभावकारी काम गरेको भन्दै पर्सा जिल्ला प्रहरी कार्यालयलाई उत्कृष्ट ठहर गरिएको हो।

प्रउप मिस्त्री करिब सात महिना अघि पर्सा प्रहरीमा हाजिर भएपछि मानव बेचबिखनविरुद्ध दह्रो अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ। उनका अनुसार सो अवधिमा १५ वटा मुद्दा दर्ता, १७ जना अभियुक्त पक्राउ गरी सफलतापूर्वक अनुसन्धान सम्पन्न गरिएको छ। साथै, करिब ३०० जना जोखिममा रहेका महिला तथा बालबालिकाको उद्धार गरिएको र ३५० भन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको तथ्यांक पर्सा प्रहरीले सार्वजनिक गरेको छ।

प्रउप मिस्त्रीले सरोकारवाला निकायहरूसँग नियमित अन्तरक्रिया र सहकार्यले जिल्ला स्तरमा अपराध नियन्त्रणमा ठोस नतिजा आएको बताएका छन्। मन्त्रालयले हरेक वर्ष मानव बेचबिखनविरुद्ध प्रहरी निकायले गरेको कामको मूल्यांकन गरी उत्कृष्ट जिल्ला छनोट गर्ने परम्परा अनुसार यस वर्ष पर्सा जिल्ला पहिलो भएको हो।

मानव बेचबिखनलाई "गम्भीर अपराध र सामाजिक कलंक"का रूपमा परिभाषित गर्दै मन्त्रालयले प्रहरीको सक्रियता र सहकार्यलाई प्रशंसनीय ठहर गरेको छ। यसले जिल्ला स्तरमै कानुनी कारबाही र रोकथामलाई सुदृढ गर्न मद्दत पुगेको मन्त्रालयको भनाइ छ।

यस सम्मानले पर्सा प्रहरीको प्रयासलाई संस्थागत मान्यता दिलाएको छ भने स्थानीय समुदायलाई पनि संवेदनशील विषयमा थप सचेत गराउने अपेक्षा गरिएको छ।