ट्रम्पको आक्रोश: बेइजिङ परेडमा अमेरिकाको योगदान मेटाइयो!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो विश्वयुद्धको अन्त्यमा अमेरिकाले खेलेको निर्णायक भूमिकालाई चीनले बेवास्ता गरेको भन्दै असन्तुष्टि प्रकट गर्नुभएको छ। ह्वाइट हाउसको ओभल अफिसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले अमेरिकाले जापानलाई पराजित गर्न महत्वपूर्ण योगदान दिए पनि चीनले बेइजिङमा आयोजना गरेको सैन्य परेडमा त्यसको उल्लेख नभएको टिप्पणी गर्नुभयो।
“समारोह निकै सुन्दर र प्रभावशाली थियो। तर, चीनलाई सहयोग गर्न अमेरिकाले ठूलो योगदान दिएको थियो। कम्तीमा राष्ट्रपतिको भाषणमा त्यसबारे उल्लेख हुनुपथ्र्यो,” ट्रम्पले भनेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उद्धृत गरेका छन्।
चीनले दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० वर्ष पुगेको अवसरमा सोमबार राजधानी बेइजिङस्थित तिआनमेन स्क्वायरमा भव्य सैन्य परेड आयोजना गरेको थियो। सो अवसरमा राष्ट्रपति सी चिनफिङले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनसँगै उपस्थित भएर ५० हजारभन्दा बढी दर्शकबीच सम्बोधन गरेका थिए। सीले आफ्नो भाषणमा चिनियाँ जनतालाई सहयोग गर्ने अन्तर्राष्ट्रिय मित्रहरूप्रति आभार व्यक्त गरे पनि अमेरिकाबारे भने विस्तृत उल्लेख गरेनन्।
चीनले सो समारोहलाई अत्याधुनिक हतियार प्रदर्शनमार्फत आफ्नो सैन्य क्षमता देखाउने अवसरको रूपमा प्रयोग गरेको रोयटर्सले जनाएको छ।
इतिहासका दृष्टिले जापानले १९३७ मा चीनमाथि आक्रमण गरेपछि दुई वर्षमै दोस्रो विश्वयुद्ध सुरु भएको थियो। सन् १९४१ मा अमेरिका युद्धमा प्रवेश गरेर चीनलाई सहयोग पुर्याएको थियो। अन्ततः १९४५ मा हिरोसिमा र नागासाकीमा परमाणु बम खसालिएपछि जापान आत्मसमर्पण गर्न बाध्य भयो र युद्ध अन्त्य भयो।
विश्वयुद्धको निर्णायक मोडमा अमेरिकाको भूमिकाबारे चीनले औपचारिक कार्यक्रममै उल्लेख नगरेपछि ट्रम्पको असन्तुष्टि प्रकट हुनु दुई देशबीच बढ्दो कूटनीतिक चिसोपनको अर्को संकेतका रूपमा पनि हेरिएको छ। समयले देखाउनेछ, स्मृतिको राजनीति कूटनीतिक सम्बन्धमा कति प्रभावकारी बन्न सक्छ।