स्याङ्जामा आज सार्वजनिक बिदा: पैगम्बर मोहम्मदको १५००औँ जन्मोत्सवमा तीन नगरपालिका बन्द

स्याङ्जाको तीन नगरपालिका-वालिङ, भीरकोट र पुतलीबजार-ले शुक्रबार सार्वजनिक बिदा दिएका छन्। यो निर्णय इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको १५००औँ जन्मोत्सवको अवसरलाई लक्षित गरेर गरिएको हो।
वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणका अनुसार मुस्लिम समुदायको मागलाई ध्यानमा राख्दै पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। उहाँले जन्मोत्सवको दिन नगरपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा सार्वजनिक निकाय बन्द रहने जानकारी दिनुभयो।
इस्लाम धर्मावलम्बीहरूको प्रमुख धार्मिक पर्वमध्ये पर्ने यो दिनलाई स्थानीय तहले सम्मानपूर्वक अंगीकार गरेको देखिन्छ। पछिल्ला वर्षमा विभिन्न धार्मिक समुदायको चाडपर्वलाई स्थानीय सरकारहरूले मान्यता दिँदै सार्वजनिक बिदा दिने अभ्यास बढ्दै गएको छ। यसले विविधतापूर्ण समाजमा सहअस्तित्व र धार्मिक सद्भावलाई अझ सुदृढ बनाउने संकेत दिन्छ।