समाचार

वर्षा र उर्वरताको कामना गर्दै राजधानी इन्द्रजात्रा पर्व मनाउदै

वर्षा र उर्वरताको कामना गर्दै राजधानी इन्द्रजात्रा पर्व मनाउदै

काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा शनिबार नेवार समुदायले धार्मिक र सांस्कृतिक उल्लासका साथ इन्द्रजात्रा पर्व मनाइरहेका छन्। भाद्र शुक्ल एकादशीका दिन हनुमानढोकामा विधिपूर्वक इन्द्रध्वजा ठड्याएपछि सुरु हुने यो पर्व परम्परागत रूपमा आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा र पूजाआजासहित मनाउने चलन छ। शत्रु पराजयपछि विजयको प्रतीकका रूपमा पनि व्याख्या गरिने इन्द्रजात्रामा जीवित देवी कुमारीसहित गणेश र भैरवको रथयात्रा प्रमुख आकर्षण हुने गर्छ। लाखेनाच, महाकालीनाच, दसअवतार, सवः भक्कु नाच र ऐरावतको प्रतीक पुलुकिसी नाचले जात्राको वातावरणलाई झनै जीवन्त बनाउँछ। नेवार भाषामा ‘येयाँ पुन्ही’ भनिने यस दिन विशेष परिकार ‘सम्य् नखः’ खाने प्रचलनले पर्वलाई भान्सा संस्कृतिसँग पनि जोड्छ।

राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्रा पर्वका अवसरमा शुभकामना दिँदै वर्षा र उर्वरता प्राप्त हुने विश्वाससहित मनाइने यस पर्वले धार्मिक सहकार्य, सामाजिक ऐक्यबद्धता र मेलमिलापलाई प्रवर्द्धन गर्ने उल्लेख गर्नुभयो। उहाँका अनुसार इन्द्रजात्राले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै शताब्दीयौँदेखि चलिआएका मौलिक परम्परा र सभ्यताको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। उहाँले यस किसिमका पर्वले विभिन्न जातजाति, भाषा, संस्कृति र भौगोलिक पृष्ठभूमिबीच विश्वास र सद्भाव बलियो बनाई राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने विश्वास पनि व्यक्त गर्नुभयो।

यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभकामना दिँदै इन्द्रजात्रालाई नेपालको जीवन्त सांस्कृतिक धरोहरका रूपमा व्याख्या गर्नुभयो। उहाँका अनुसार यस्तो पर्वले पुराना रीतिरिवाज र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने माध्यम बनेको छ।

ललितपुर, भक्तपुर, काभ्रे, दोलखा लगायतका क्षेत्रमा पनि समान उत्साहका साथ मनाइने कुमारी इन्द्रजात्राले काठमाडौंलाई आठ दिनसम्म रथयात्रा, नाचगान र धार्मिक अनुष्ठानको रंगमञ्चमा रूपान्तरण गर्ने परम्परा निरन्तर छ। यस्तो ऐतिहासिक पर्वले स्थानीय पहिचान मात्र होइन, सांस्कृतिक धरोहरलाई जगेर्ना गर्दै बदलिँदो समयसँगै नयाँ पुस्तामा यसको महत्त्व स्थापित गर्ने अवसर प्रदान गरिरहेको छ।