समाचार खेल

पोखरामा आयोजित आर्म रेस्लिङमा रोमन महर्जन ओभरअल च्याम्पियन, एक लाख नगदसहित सम्मानित

पोखरामा आयोजित आर्म रेस्लिङमा रोमन महर्जन ओभरअल च्याम्पियन, एक लाख नगदसहित सम्मानित

पोखरामा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय स्तरको आर्म रेस्लिङ प्रतियोगितामा काठमाडौंका रोमन महर्जनले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन उपाधि जित्नुभएको छ। ओभरअल च्याम्पियन बनेका महर्जनले नगद एक लाख रुपैयाँ पुरस्कार पाउनुका साथै आफ्नै ८० केजी तौल समूहमा पनि प्रथम स्थान हासिल गर्दै थप ५० हजार रुपैयाँ प्राप्त गर्नुभयो।

कास्की जिल्ला आर्म रेस्लिङ संघको आयोजनामा सम्पन्न यस प्रतियोगितामा विभिन्न तौल समूहमा करिब दुई सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए। ६० केजीमुनि भक्तपुरका सुमन नापित विजेता बने भने काठमाडौंका सिद्धार्थ श्रेष्ठ र सुदीप तामाङ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदा उनीहरूले २५ हजार र १० हजार रुपैयाँ जिते। ७० केजीमुनि तरुण विक प्रथम, ग्रेसविन प्रधान दोस्रो र काठमाडौंका एड्रिम राई तेस्रो भए।

८० केजीमुनि रोमन महर्जनसँगै काठमाडौंकै समिक प्रधान दोस्रो र बुटवलका आर्यन विक तेस्रो बने। ८० केजीमाथि झापाका सौरभ प्रधान विजेता घोषित भए भने विराटनगरका राहुल यादव दोस्रो र झापाकै दीपेश मैनाली तेस्रो स्थानमा रहे। प्रत्येक समूहमा विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार रुपैयाँसहित प्रमाणपत्र पाएका छन्।

सर्वाधिक पुरस्कार राशिको यो प्रतियोगिता गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गर्नुभएको हो। विजेताहरुलाई गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य तथा संघका सल्लाहकार भेनिस थापाले पुरस्कार वितरण गर्नुभयो।

संघका अध्यक्ष नवीन गुरुङका अनुसार आर्म रेस्लिङप्रति युवा पुस्ताको बढ्दो आकर्षणलाई ध्यानमा राखी पोखरामै संघ गठन गरेर यस्तो स्तरको प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो। खेलकुदका अन्य लोकप्रिय प्रतिस्पर्धाजस्तै आर्म रेस्लिङले पनि नेपालको खेल क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन थालेको संकेत यस आयोजनाले देखाएको छ।