समाचार

प्राइम एसोसिएट्स नेपालका लागि विटगन ग्रुपको आधिकारिक बिक्रेता घोषित

प्राइम एसोसिएट्स नेपालका लागि विटगन ग्रुपको आधिकारिक बिक्रेता घोषित

काठमाडौं – प्राइम एसोसिएट्स प्रालिले जर्मनीमा मुख्यालय रहेको बहुराष्ट्रिय कम्पनी विटगन ग्रुपका निर्माण उपकरणहरूको नेपालका लागि आधिकारिक बिक्रेता बनेको घोषणा गरेको छ। कम्पनीले काठमाडौंमा आयोजित कार्यक्रममा सम्झौता पत्र आदानप्रदान गर्दै औपचारिक रूपमा साझेदारीको सुरुवात गरेको हो।

सम्झौतापत्रमा विटगन ग्रुपका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रमेश पलागिरी र प्राइम एसोसिएट्सका कार्यकारी निर्देशक दिपक आचार्यले हस्ताक्षर गरेका थिए। सो अवसरमा नयाँ ग्राहकलाई विटगन उपकरणको चाबी हस्तान्तरण पनि गरिएको थियो।

विटगन ग्रुपअन्तर्गतका उत्पादनहरू सडक निर्माण, पुनर्स्थापना र खानी सञ्चालनका क्षेत्रमा विश्वव्यापी रूपमा प्रयोग हुँदै आएका छन्। समूह अन्तर्गतका विटगन, भोग्ले, ह्याम र क्लिम्यान जस्ता ब्रान्डका उपकरण सडक तथा आधारभूत संरचना निर्माणमा गुणस्तरीय प्रविधि प्रदान गर्ने मानिन्छन्। कम्पनीका अनुसार नेपालमा पनि यी उपकरणले विभिन्न ठूला परियोजनामा प्रयोग हुँदै आएका छन्।

कार्यक्रममा बोल्दै सीईओ पलागिरीले “विटगन ग्रुपका उत्पादन विश्वकै उत्कृष्ट निर्माण उपकरणका रूपमा मान्यता पाएका छन्, र नेपाली बजारमा यसको माग अझै बढ्ने अपेक्षा छ” भनेका थिए। प्राइम एसोसिएट्सका निर्देशक आचार्यले भने “१८ वर्षदेखि अटोमोबाइल र निर्माण उपकरण क्षेत्रमा सक्रिय प्राइम एसोसिएट्सले नयाँ ब्रान्डमार्फत अझ गुणस्तरीय सेवा पुर्‍याउने अवसर पाएको छ” भन्ने प्रतिक्रिया दिए।

विटगन ग्रुप सन् १९९५ मा भारतको पुनेमा स्थापनासँगै दक्षिण एशियाली क्षेत्रमा विस्तार भएको हो। १०० वर्षभन्दा लामो इतिहास बोकेको समूहले निर्माण क्षेत्रमा नवीनतम प्रविधि ल्याउनेमा जोड दिएको बताइन्छ।

यसै क्रममा ह्याम ब्रान्डको नयाँ मिनी रोलर एचडी १२ भीभी पनि नेपाली बजारमा सार्वजनिक गरिएको छ। कम्पनीका विवरणअनुसार उक्त रोलरमा दुई भाइब्रेटिङ ड्रम, वातावरणमैत्री इन्जिन प्रविधि, तीन-बिन्दु आर्टिक्युलेसन, इर्गोनोमिक प्लेटफर्म र स्मार्ट वाटर स्प्रिङकलर प्रणाली जस्ता विशेषता समावेश छन्।

प्राइम एसोसिएट्सले विगतमा अस्फाल्ट प्लान्ट, पेभर, स्टोन क्रसरदेखि सेल्फ लोडिङ मिक्स्चरसमेत नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीले देशभर विटगन उपकरणका लागि सर्भिस नेटवर्क, दक्ष प्राविधिक तथा स्पेयर पार्ट्स सेवा उपलब्ध हुने जनाएको छ।

यस साझेदारीलाई निर्माण क्षेत्रमा नयाँ प्रविधि र उपकरणको पहुँच बढाउने पहलका रूपमा हेरिएको छ, जसले आगामी दिनमा नेपालका आधारभूत संरचना परियोजनामा थप सहयोग गर्ने अपेक्षा गरिएको छ।