राष्ट्रिय महिला क्रिकेट उप–कप्तान पूजा महतो गल्फ लुब्रिकेन्ट्सको ब्रान्ड एम्बेसडर नियुक्त!
नेपाल ल्युब आयल लिमिटेडले पोखरामा सम्पन्न वार्षिक पार्टनर मिटमा राष्ट्रिय महिला यू–१९ क्रिकेट टोलीकी उप–कप्तान पूजा महतोलाई गल्फ लुब्रिकेन्ट्सको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको छ। विश्वमै सर्वाधिक बिक्री हुने लुब्रिकेन्ट ब्रान्डमध्ये एक गल्फ, नेपालमा करिब ४० वर्षदेखि यो कम्पनीमार्फत उत्पादित र वितरित हुँदै आएको छ।
कार्यक्रममा नेपालभरिका ३३ भन्दा बढी व्यवसायिक साझेदार, सञ्चालक समिति सदस्य तथा विभिन्न प्रतिनिधिहरुको सहभागिता थियो। सो अवसरमा पार्टनरहरूको क्षमता अभिवृद्धिका लागि विशेष प्रशिक्षण सत्र, विगत वर्षको व्यवसायिक समीक्षा र आगामी रणनीतिक रोडम्याप प्रस्तुत गरिएको थियो। उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्ने साझेदारहरूलाई सम्मान समेत गरिएको कम्पनीले जानकारी दिएको छ।
महतोले हालै आईसीसी यू–१९ महिला विश्वकप २०२५ को ‘ड्रिम टिम’ मा स्थान बनाउन सफल भएकी थिइन्। उनले उक्त मान्यता पाउने एक मात्र एसोसिएट राष्ट्रकी खेलाडीको रूपमा इतिहास रचिन्। नियुक्तिपछि उनले भनिन्, “गल्फ विश्वव्यापी रूपमा प्रतिष्ठित ब्रान्ड हो, जुन उच्च प्रदर्शन र गुणस्तरका लागि परिचित छ। यससँग सहकार्य गर्न पाउँदा म निकै खुसी छु। यसले मलाई मात्र होइन, अरु महिला क्रिकेटरलाई पनि प्रेरणा दिनेछ भन्ने विश्वास छ।”
कम्पनीका अध्यक्ष करण चौधरीले लुब्रिकेन्ट व्यवसाय प्रतिस्पर्धात्मक र चुनौतीपूर्ण हुँदै गएको उल्लेख गर्दै, “नेपाल ल्युब आयल लिमिटेडले गुणस्तर, सर्वसुलभता र साझेदारहरूको हितलाई निरन्तर प्राथमिकता दिँदै आएको छ। आगामी दिनमा गल्फ अझ गतिशील बन्ने विश्वास छ,” भने।
त्यस्तै, कार्यक्रममा सम्बोधन गर्दै कम्पनीका अन्य प्रतिनिधिहरूले महतोको मेहनत, प्रतिबद्धता र अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको उपलब्धिलाई पार्टनर मिटको मूल नारासँग जोड्दै, सबैले मिलेर ब्रान्डको उचाइ थप बढाउने अपेक्षा व्यक्त गरे।
अटोमोटिभदेखि औद्योगिक क्षेत्रमा विश्वव्यापी रूपमा परिचित गल्फ लुब्रिकेन्ट्सले नेपाली बजारमा पनि स्थिर स्थान कायम गर्न सफल भएको छ। महतोसँगको सहकार्यलाई कम्पनीले नेपाली महिला क्रिकेट र ब्रान्ड दुवैको प्रगतिमा योगदान गर्ने अवसरका रूपमा व्याख्या गरेको छ।