समाचार

दराजले घोषणा गर्‍यो ९.९ ‘दशैं धमाका’ अभियान, ७५% सम्म छुट र निःशुल्क डेलिभरी सुविधा!

दराजले घोषणा गर्‍यो ९.९ ‘दशैं धमाका’ अभियान, ७५% सम्म छुट र निःशुल्क डेलिभरी सुविधा!

 दशैं नजिकिँदै गर्दा अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले आफ्नो वार्षिक ‘९.९ दशैं धमाका’ अभियान सुरु गर्ने घोषणा गरेको छ। ‘बडा दशैं, बडा तयारी’ नारा दिइएको यो अभियान भदौ २४ देखि असोज ७ (सेप्टेम्बर ९–२३, २०२५) सम्म चल्नेछ।

दराजका अनुसार अभियान अवधिमा उपभोक्ताले ७५ प्रतिशतसम्म छुट, रु. १ लाखभन्दा बढीको खरिदमा १० हजार रुपैयाँसम्मको फ्ल्याट भौचर र छानिएका उत्पादनमा निःशुल्क डेलिभरी सुविधा पाउनेछन्। यस पटकको अभियान दराजको वार्षिकोत्सवसँगै मिलेकाले थप विशेष बनाउन खोजिएको कम्पनीको भनाइ छ।

दराजले विभिन्न स्तरका पार्टनर ब्रान्डमार्फत छुटको व्यवस्था मिलाएको छ। प्लेटिनम पार्टनर सेताफिल, यूनिलिभर, होनासा, रोह्टो लगायतका उत्पादनमा ७० प्रतिशतसम्म, गोल्ड पार्टनरमार्फत ६० प्रतिशतसम्म र सिल्भर पार्टनरमार्फत ४० प्रतिशतसम्म छुट उपलब्ध गराइनेछ। यसका अतिरिक्त भ्यान्स, कन्भर्स, पोषिलो फुड्ससहित ५० भन्दा बढी ब्रान्डमा पनि ५० प्रतिशतभन्दा बढी छुट रहने जानकारी दिइएको छ।

बैंकमार्फत भुक्तानी गर्दा थप छुटको व्यवस्था गरिएको छ। नबिल, हिमालयन, सानिमा, प्रभु, ज्योति, महालक्ष्मी र गरिमा विकास बैंकसँगको सहकार्यमा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (रु. १,५०० सम्म) र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत (रु. १,००० सम्म) छुट पाउनेछन्।

न्यूनतम रु. ४९९ को खरिद गर्दा उपलब्ध हुने निःशुल्क डेलिभरी सुविधा यस पटक पनि कायम राखिएको दराजले जनाएको छ। कम्पनीका अनुसार अभियान छुट र अफरमा मात्र सीमित नभई सहज भुक्तानी, छिटो डेलिभरी र रिटर्न प्रणालीमार्फत “अविस्मरणीय किनमेल अनुभव” दिने उद्देश्य लिएको छ।

सन् २०१५ मा स्थापना भएको दराज दक्षिण एसियाका पाँच देशमा सेवा विस्तार गरेको ई–कमर्स प्लेटफर्म हो। नेपालमा यसले हाल विभिन्न श्रेणीका उत्पादन र डिजिटल भुक्तानी प्रणालीमार्फत उपभोक्तालाई आकर्षित गर्दै आएको छ।

दराज नेपालका कम्युनिकेसन म्यानेजर प्रारम्भ दाहालले अभियानबारे थप जानकारीका लागि ग्राहकलाई दराज एप, आधिकारिक वेबसाइट वा फेसबुक पेज प्रयोग गर्न आग्रह गरेका छन्।