काठमाडौंको पहिलो सुजुकी सर्भिस सेन्टर अटो एभले मनायो १६औं वार्षिकोत्सव
काठमाडौंमा सुजुकीको पहिलो आधिकारिक सर्भिस सेन्टर अटो एभ प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ। काठमाडौंको जोरपाटी, दक्षिणढोकामा अवस्थित यस सर्भिस सेन्टरको वार्षिकोत्सव कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले संस्थाले लामो समयदेखि दिएको योगदानलाई स्मरण गर्दै आगामी दिनमा अझ सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रममा सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पका नेसनल सर्भिस हेड सरोज खड्का, मार्केटिङ म्यानेजर सजल श्रेष्ठ, डिलर इन्चार्ज अभिषेक ठाकुर तथा समाजसेवी सुदर्शन सिग्देललगायत उपस्थित थिए। सहभागीहरूले अटो एभले दक्ष जनशक्ति, ह्विल एलाइनमेन्ट र डाइग्नोस्टिक उपकरणजस्ता सुविधाले ग्राहकको विश्वास जित्न सफल भएको धारणा व्यक्त गरे।
२०६६ सालमा काठमाडौंको मित्रपार्कमा स्थापना भएको अटो एभ प्रालि करिब नौ महिना अघि जोरपाटी स्थानान्तरण भएको हो। सफल युवा अटो व्यवसायी मधुसूदन सिग्देलको नेतृत्वमा सञ्चालन भइरहेको यस सर्भिस सेन्टरले सुजुकी ब्रान्डको बिक्रीपश्चात सेवा क्षेत्रमा छुट्टै पहिचान बनाएको छ।

हाल सुजुकीको उपत्यकामा एक दर्जनभन्दा बढी सर्भिस सेन्टर सञ्चालनमा भए पनि अटो एभ ग्राहकबीच परिचित नाम मानिन्छ। कम्पनीले गाडी मर्मतसम्भारका लागि अत्याधुनिक उपकरण, दक्ष प्राविधिक टिम र सुजुकीका जेन्युइन पाट्र्सको छुट्टै आउटलेटसमेत उपलब्ध गराएको दाबी गरेको छ।
सिजी मोटोकर्पले अटो एभलाई सेवा क्षेत्रका उपलब्धिका आधारमा पटक–पटक सम्मान गरिसकेको छ। सर्भिस सेन्टरका सञ्चालक सिग्देलले ग्राहकलाई सम्पूर्ण समाधान एकै छानामुनि उपलब्ध गराउने दाबी गर्दै भने, “कतिपय अवस्थामा अन्य सर्भिस सेन्टरले नसकेका जटिल समस्याहरू पनि हाम्रो टिमले सजिलै समाधान गरेको छ, जुन हाम्रो प्रमुख सशक्त पक्ष हो।”
वार्षिकोत्सवमा सरिक वक्ताहरूले अटो एभले सञ्चालन गर्दै आएका नियमित सर्भिस क्याम्प र निःशुल्क चेकअप क्याम्पहरूले ग्राहकलाई थप सुविधा पुगेको उल्लेख गर्दै आगामी दिनमा यसले अझ सुदृढ सेवा प्रवाह गर्ने अपेक्षा व्यक्त गरे।
