समाचार

जेनजी प्रदर्शन : मृत्यु भएकाको संख्या १४ पुग्यो, घाइतेको उपचार जारी

जेनजी प्रदर्शन : मृत्यु भएकाको संख्या १४ पुग्यो, घाइतेको उपचार जारी

काठमाडौँ उपत्यकामा आज भएको ‘जेनजी’ प्रदर्शन रक्तपातमा परिणत भएको छ । विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये हालसम्म १४ जनाको मृत्यु भइसकेको चिकित्सकहरूले पुष्टि गरेका छन्।

ट्रमा सेन्टरले मात्रै छ जनाको मृत्यु भएको जनाएको छ । त्यहाँ उपचाररत २५ घाइतेमध्ये पाँचको अवस्था अझै गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। सिभिल अस्पतालमा उपचाररतमध्ये तीन जनाले ज्यान गुमाएका छन् भने काठमाडौँ मेडिकल कलेजमा २० घाइते भर्ना भएका मध्ये एक जनाको मृत्यु भएको छ। एभरेस्ट अस्पतालमा ३४ जना घाइते उपचारत छन्, त्यसमध्ये तीन जनाले जीवन गुमाए। शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत १६ मध्ये एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार आवश्यक औषधि तथा चिकित्सकीय सहयोग तुरुन्त उपलब्ध गराउने तयारी गरिएको छ।

यसबीच, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जेनजी प्रदर्शनमा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको जानकारी दिएका छन्। उनका अनुसार सरकार घटनाको सम्पूर्ण आकलन गर्दैछ र आवश्यक थप कदमबारे छलफल भइरहेको छ।

आन्दोलन नियन्त्रणका लागि गरिएको बल प्रयोगपछि मानव क्षतिको यति ठूलो संख्या बाहिर आउनु उपत्यकाको सुरक्षाप्रणालीप्रति गम्भीर प्रश्न उठाउने विषय बनेको छ। अहिले अस्पतालमा उपचाररत सयभन्दा बढी घाइतेहरूको अवस्था अझै अनिश्चित देखिँदैछ, जसले आगामी दिनमा मृतकको संख्या बढ्न सक्ने संकेत दिएको छ।