समाचार

कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीले सर्वसाधारणका लागि ३० प्रतिशत आईपीओ सार्वजनिक गर्ने

कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीले सर्वसाधारणका लागि ३० प्रतिशत आईपीओ सार्वजनिक गर्ने

श्री कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले निकट भविष्यमै सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले जारी पूँजीको ३० प्रतिशत  सर्वसाधारणलाई निष्काशन गर्ने र बाँकी ७० प्रतिशत रकम विभिन्न पर्यटन, उर्जा तथा कृषि उत्पादन क्षेत्रमा लगानी गर्ने जनाएको छ।

कम्पनीका अनुसार धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाअनुसार नियामक निकायबाट स्वीकृति लिएपछि मात्र निष्काशन प्रक्रिया अघि बढाइनेछ। यस प्रयोजनका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।

कुल ८० करोड रुपैयाँको जारी पूँजी रहेको कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीले लामो समयदेखि लगानी कम्पनीका लागि धितोपत्र बोर्डले तोकेको निर्देशनअनुसार विभिन्न केवलकार, उर्जा र कृषि उत्पादनसम्बन्धी कम्पनीमा लगानी गर्दै आएको छ।

आईपीओ व्यवस्थापनसम्बन्धी सम्झौतामा कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी र नबिल इन्भेष्टमेण्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।

कम्पनीले आईपीओ सार्वजनिक गर्ने तयारीलाई आफ्नो दीर्घकालीन विस्तार रणनीतिसँग जोडेको जनाएको छ। यस प्रक्रियाले कम्पनीको पूँजी संरचना सुदृढ गर्नेसँगै सर्वसाधारण लगानीकर्तालाई पनि पर्यटन, उर्जा र कृषि क्षेत्रमा अप्रत्यक्ष साझेदारीको अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ।