राजधानीमा कडा प्रतिबन्ध! पुलचोकदेखि सानेपा सम्म सभा–जुलुस पूर्ण रोक

ललितपुर जिल्ला प्रशासन कार्यालयले आज साँझ ६ बजेदेखि लागू हुनेगरी संवेदनशील मानिएका केही क्षेत्रमा सभा, जुलुस र धर्ना गर्न रोक लगाएको छ। प्रशासनले जारी गरेको सूचनामा पछिल्ला दिनहरूमा विभिन्न समूह र पक्षले आ–आफ्ना मागसहित प्रदर्शन गरेका र त्यस क्रममा हिंसात्मक गतिविधि वा हुलदङ्गाको जोखिम बढेको भन्दै सार्वजनिक शान्ति सुरक्षामा असर पर्न नदिन यस्तो कदम चालिएको उल्लेख छ।
निषेधाज्ञा मुख्यतः कूटनीतिक र संवेदनशील सरकारी आवास क्षेत्रलाई केन्द्रित गरिएको छ। पुलचोकस्थित संयुक्त राष्ट्रसंघ (यूएन) हाउस र न्यायाधीश निवास वरिपरि करिब २०० मिटर परिधिभित्र, भैँसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र, तथा सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय क्षेत्रभित्र कुनै पनि प्रकारको सभा वा जुलुस निषेध गरिएको हो। यी क्षेत्रमा सामान्य आवतजावत भने खुला रहने प्रशासनले स्पष्ट पारेको छ।
सूचनामा भनिएको छ, “आज साँझ ६ बजेदेखि अर्को आदेश नभएसम्म सर्वसाधारण र सवारीसाधनको आवतजावत बाहेक कुनै किसिमको सभा, जुलुस, भेला वा धर्ना गर्न पाइने छैन। आदेश उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।”
हालै सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध र सरकारको कदमप्रति असन्तोष जनाउँदै राजधानीमा युवापुस्तादेखि विभिन्न राजनीतिक समूहसम्म सडकमा आएका थिए। सोही पृष्ठभूमिमा प्रशासनले सुरक्षा संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै निषेधाज्ञा लागू गरेको देखिन्छ। राजनीतिक तनाव बढ्दो क्रममा ललितपुर प्रशासनको आदेशले आगामी दिनमा प्रदर्शनको स्वरूप र राज्यको प्रतिक्रिया कस्तो हुन्छ भन्ने प्रश्नलाई अझ बढी केन्द्रीय बनाएको छ।